
काठमाडौं– प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको बैठक बिहीबार बस्दैछ । पार्टी एकतामा सहमति जुटाउन सत्तारुढ नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
एकताका लागि गठन गरेको कार्यदलसँग आज सचिवालय बैठकमा छलफल हुन लागेको हो । कार्यदलले अपूर्ण प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि सहमति जुटाउन शीर्ष तहमै छलफल भईरहेको छ । यसैको लागि आज सचिवालय र कार्यदलको संयुक्त बैठक डाकिएको हो ।
कांग्रेस बैठक
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि बिहिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ ।
पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक पटक भन्दा नदोहोर्याउने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा जारी विवादबारे पनि बैठकमा छलफल हुने छ । बैठकमा नेविसंघलगायतका भ्रातृ संगठनबारेको विवादमा पनि छलफल हुने छ ।