१७ असार २०८३, बुधबार

हुम्लीको पीडा : जहाज उड्छ सामान बोकेर, यात्रु कुरेको कुर्‍यै

फागुन ९, २०७५
हुम्लीको पीडा : जहाज उड्छ सामान बोकेर, यात्रु कुरेको कुर्‍यै

सुर्खेत – लामो कसरतपछि कर्णाली प्रदेश सरकारले सीता एयरलाई कर्णालीका विकट जिल्लामा जहाज उडाउन राजी गरायो । प्रदेश सरकारको आग्रहमा नै विमानस्थलबाट सीता एयरले जहाज उडाउन पनि शुरू गर्‍यो ।

जहाज उड्ने भएपछि खुशी भएका कर्णालीका विकट क्षेत्रका जनताका लागि बिडम्बना त्यतिबेला बन्यो, जतिबेला जहाजले यात्रु होइन, सामान मात्रै ओसार्न थाल्यो ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको १ मात्र यातायात साधन हवाई यातायात हो । तर सुर्खेत–हुम्ला, हुम्ला–सुर्खेत नियमित हवाई उडान नहुँदा हुम्ली जनता सास्ती भोग्न बाध्य छन् । एयरलायन्सहरू तारा, सीता, समिट एयरले नियमित रुपमा नेपालगञ्जबाट हवाई उडान गर्दै आएका छन् ।

सुर्खेत आउने जहाजले यात्रुलाई नचढाएर कार्गो सामान मात्रै ढुवानी गर्दा यात्रु अलपत्र परेका छन् । सुर्खेतबाट दिनको कम्तिमा २ फ्लाइट सीता र तारा एयरलाइन्सले उडान भरेपनि एयरलाइन्सले आलटाल गदै यात्रुलाई दुःख दिने काम गरेको यात्रुको गुनासो छ ।

हुम्ला पुग्ने नागरिक सुर्खेत विमानस्थलमा जहाजको टिकट कुर्दै दिन जाने गरेको सिमकोट गाउँपालिका–७ का स्थानीय झिल्कबहादुर शाहीले दुखेसो गरे । ‘टिकटको लागि हारगुहार गर्दा समेत कसैले सुन्दैन । दिनभर टिकट पाउने आशैआशमा एयरपोर्टमा कुर्दा खाना समेत खान पाइँदैन,’ उनले भने । 

जहाजको टिकटको लागि हप्तौदिन विमानस्थल धाएपनि हुम्ला जान नपाएको सेवाग्राहीको गुनासो छ । पत्नी बिरामी भएपछि उपचार गर्न सुर्खेत आएर घर फर्किन टिकटको प्रतिक्षा गरेको १४ दिनसम्म आफूले जहाज टिकट नपाएको खार्पुनाथ गाउँपालिका–५ का स्थानीय दलजित सुनारले बताए । प्रदेशका मन्त्री र नेताहरूले सुर्खेतदेखि हुम्लासम्म यात्रु बोक्ने उडानका लागि कुनै पनि चासो नदिएको हुम्लीवासी गुनासो छ ।

‘चुनाव आउँदा आमाबुबा दिदीबहिनी हामीले तपाईहरूको माग पूरा गर्छाै भन्दै आश्वासन दिने नेताहरूले अहिले कुनै चासो दिएका छैनन्,’ सर्केगार्ड गाउँपालिका–७ का स्थानीय हंश ऐडीले भने ।

कर्णाली प्रदेश सरकारले सुर्खेतबाट कर्णालीको हुम्ला, मुगु, डोल्पा, जुम्ला जिल्लामा हप्तामा १–१ फ्लाइट गर्न भन्दै सीता एयरलाइन्ससँग सम्झौता गरेको थियो । अहिले सीता एयरलाइन्सले आलटाल गर्दै आएको देखिन्छ । सुर्खेतदेखि हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सका जहाजले यात्रु बोक्न मान्दैनन् । तर कार्गो सामान मात्रै बोक्ने गरेका छन् ।

सुर्खेतबाट दैनिक १–२ फ्लाइट उडान भरेपनि सामान मात्रै बोक्ने गरेपछि यात्रुलाई समस्या भएको छ । टिकटको लागि हारगुहार गर्दै आएपनि यात्रुहरूले हुम्ला जान नपाएको यात्रुको गुनासो छ ।

प्रदेश सरकार बेखबर

हुम्ला, डोल्पा, मुगु, जुम्ला लगायतका जिल्लामा सुर्खेतदेखि नियमित रुपमा उडान गराउने कर्णाली प्रदेश सरकार बेखबर रहेको छ । विमानस्थल नियमित उडान नभएपछि स्थानीय हारगुहार गर्दा समेत प्रदेश सरकार मौन बसेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका अनुसार  हवाईसम्बन्धी प्रदेश सरकारलाई अधिकार नभएको बताए । 

सुर्खेत विमानस्थलमा सीता एयरलाइन्सलाई ‘नाइट स्टप’ राख्नको लागि प्रदेश सरकारले गुहार माग्नुपर्ने स्थिति रहेको मन्त्री बुढाले बताए । मन्त्री बुढाले भने, ‘एयरलाइन्सहरू यात्रु पाउँदैन भन्दै आलटाल गर्दै आएका छन् ।’

अब छिट्टै एयरलाइन्स कम्पनी र नेपाल नागरिक उड्ड्यन कार्यालय सुर्खेतको प्रमुखसँग छलफल गरिने मन्त्री बुढाले बताए । सुर्खेतदेखि तारा, सीता, समिट एयरले उडान भर्दै आएपनि काग्र्राे सामान र नेपाल खाद्य संस्थानको चामल बोक्दै आएका छन् । 

भौगोलिक रुपमा विकट हुम्लाका नागरिकले भने प्रदेश राजधानी जोड्ने एक मात्र हवाई यातायात नियमित गर्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्