
काठमाडौं – सडकदेखि सदनसम्म पशुपति शर्माको गीत ‘लुट कान्छा लुट’को चर्चा छ ।
युट्युबमा अपलोड भएको दुईदिनमै उक्त गीत चर्चाको शिखरमा पुग्यो । सामाजिक सञ्जालमा व्यापक चर्चा र जनस्तरबाट प्रसंशाका बाबजुद् शर्माले युट्युबबाट गीत डिलिट गरे ।
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन युवा संघले गीत डिलिट गर्न दबाब दिएको खबर सार्वजनिक भयो । स्वयं पशुपतिले युवासंघबाट दबाब आएको एक अन्तर्वार्तामा बताए । जुन खबरले अन्तर्राष्ट्रिय मिडियासम्म पनि चर्चा पायो ।
पशुपतिले गीत डिलिट गरेको केही दिनपछि सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त गीतको अपव्याख्या गरे ।
ओलीले बुधवार गरेको दाबी पत्याउने हो भने जनताले मन नपराएपछि त्यो गीत पशुपतिले युट्युबबाट हटाएका हुन् ।
ओलीले भने– ‘एउटाले गीत बनायो रे, मैले सुनेँ । लुट, लुट, गरी खाएर केही काम लाग्दैन, लुटेर खा भाइ, लुटऽऽ । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि उनले युट्युबबाट हटाए अरे ! भावनामा बगेर एउटा गीत लेखे । युट्युबमा पनि हाले । सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाए त, सिद्धियो नि कुरा । सरकारले केही भन्या छैन, सरकारले किन केही भन्नुपर्छ ? सरकार यत्ति भन्छ, सुबाटोमा हिँडौं ।’
शब्दलाई तोडमोड गरेर प्रधामनन्त्री ओलीले जुन प्रकारको सफेद झूट बोलेका छन्, यसले सत्ताधारीको भाषा बोलेको छ । वास्तविकता ओलीले दाबी गरेजस्तो हो त ? बिल्कुलै होइन । के पशुपति शर्माले– ‘गरी खाएर केही काम लाग्दैन, लुटेर खा भाइ !’ भनेका हुन् त ? पक्कै होइन, किनभने उक्त भिडियोमा लेखेकै छन्– ‘यो विशुद्ध व्यंग्यात्मक गीत हो । गीतको व्यंग्य बुझौं, देश लुट्नेलाई बहिष्कार गरौं ।’
प्रधानमन्त्रीले दाबी गरेजस्तो पशुपतिको गीत जनताले मन पराएका हुँदैनथे भने सामाजिक सञ्जाल किन पशुपतिमय हुन्थे ? चोकचोकमा लाउड स्पिकरमा गीत किन बज्थ्यो ? सत्तारुढ दलकै कतिपय नेता/कार्यकर्ताले किन गीतको समर्थन गर्दै फेसबूकमा राख्थे ?
ओलीले दाबी गरेजस्तो पशुपतिको गीतलाई जनताले मन नराएको हो भने त प्रधानमन्त्री र जनताको बोली भाषा फरक पर्न थालेको विश्लेषण गर्नुपर्ने हुन्छ । सूर्यलाई हत्केलोले छेके जस्तो हुन्छ ।
निष्पक्ष भएर भन्दा पशुपतिको गीतलाई बहुसंख्यक नेपालीले मन पराएका छन् । जनताले मन नपराएर हटाएको भनेर प्रधानमन्त्रीले आम जनताको आँखामा छारो हाल्न खोजेका हुन् भने प्रधानमन्त्रीले भन्ने गरेका कुरापनि पशुपतिको गीतलाई जसैगरी मूल्यांकन हुनेछ ।
२०६२ सालको जनआन्दोलन पूर्व शाही सरकारका मन्त्रीहरूको भाषण हुन्थ्यो– ‘देशमा संविधान सभाको औचित्य छैन ।’ शाही सरकारका मन्त्रीको भाषणलाई आम जनताले भने उल्टाएर बुझ्दथे । यदि अहिले सत्तामा बस्नेहरूले पनि झूट कुरा गर्न लागे र जनताले उल्ट्याएर बुझ्नुपर्ने अवस्था आयो भने ? सूचना प्रविधिको प्रभाव गाउँ–गाउँमा पुगेका कारण मन्त्री प्रधानमन्त्रीले दाबी गर्दैमा जनताले झूठ कुरा त पत्याउँदैनन् ।
अपव्याख्या गर्ने ओलीको शैली
फ्रान्सका शासक लुई चौधौं जस्तै प्रधानमन्त्री ओलीमा पनि म नै सत्य, मैले बोलेको नै सही भन्ने दम्भ देखिन्छ । अरूको अस्तित्व स्वीकार्ने धैर्यता ओलीमा देखिँदैन । पशुपति शर्माको गीतमा मात्र होइन, अन्य कुरामा पनि ओलीले तथ्य तोडमोड गरेर भएपनि आफू नै सही भन्ने स्थापित गर्न खोजेका छन् ।
संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसदले प्रश्न गरे– ‘प्रधानमन्त्रीज्यू देशमा महंगी बढ्यो ।’
ओलीको तर्फबाट रुखो जवाफ आयो– ‘मेरो पालामा सुका माना घ्यु थियो, ९० रुपैयाँ तोला सुन थियो ।’
के प्रधननमन्त्री जनताप्रति यति निर्मम बन्न मिल्छ ? वीरगञ्जका व्यापारीले सामान किन्न आउने ग्राहकलाई पनि यस्तो भन्न सक्दैन । प्रधानमन्त्रीले भन्नुपर्दथ्यो– ‘हो देशमा महंगी बढ्यो, यो घटाउन पहल गर्छु ।’
कुनै पनि घटनाक्रमलाई आफू अनुकुलको व्याख्या या वास्तविकताको अपव्याख्या गर्ने ओलीको शैली देखिन्छ । पशुपति शर्माको गीतप्रति ओलीको बक्रदृष्टि त्यसैको शिलशिला मात्र हो ।
किन अपव्याख्या गर्छन् ओली ?
प्रधानमन्त्रीको सचिवालयसँग निकट एक नेता भन्छन्– ‘समृद्धिको भोक प्रधानमन्त्रीमा छ । उहाँले राम्रै गरौं भनेर सोच्नुहुन्छ । राम्रो गर्न खोज्दाखोज्दै पनि कतिपय ठाउँमा कमजोरी हुन्छ । जनस्तरमा आलोचना हुन्छ, तर प्रधानमन्त्रीलाई नकारात्मक कुरा र आलोचनाहरू खासै सुनाइन्न । सबै ठीकठाक छ । जनता खुशी छन् । विपक्षीहरूको काम नै विरोध गर्ने हो नि भनेर ब्रिफिङ हुन्छ ।’
उक्त कुरालाई प्रधानमन्त्रीको टिप्पणीसँग जोडेर हेरौं । प्रधानमन्त्री देशकै ठूलो कार्यकारी पद हो । प्रधानमन्त्रीका जिम्मेवारी निकै महत्त्वपूर्ण हुन्छन् । उनले सबैकुरा आफैं हेर्न भ्याउँदैनन् । यस्ता कुराहरू सल्लाहकार तथा सहयोगीले सुनेर ब्रिफिङ गर्छन् ।
शायद पशुपतिको गीतका सन्दर्भमा पनि यस्तै भयो कि ? सहयोगीले प्रधानमन्त्रीलाई भनिदिए– प्रधानमन्त्रीज्यू, यो लुटेर खानुपर्छ भनेर सिकाउने गीत हो । जनताबाट व्यापक आलोचना भयो अनि आफैंले गीत हटाए ।
पढ्नुहोस्, यो पनि :
पशुपति शर्माको देवत्व र दानवीकरण : हनुमानगिरी र अरिंगालगिरीको भुमरीमा समाज !
यसो भन्दैमा प्रधानमन्त्रीको कटू टिप्पणीलाई सही ठहर्याउन कदापी मिल्दैन । संवेदनशील विषयमा प्रधानमन्त्रीको अपव्याख्या निराशाजनक छ ।
प्रधानमन्त्रीले भाषणमा शून्य सहनशीलताको कुरा गरेपनि भ्रष्टाचार रोकिएको छैन । सरकारी कार्यालयमा स–साना काम गर्नका लागि पनि जनताले अतिरिक्त शुल्क बुझाउनु परेको यथार्थ हो । अवस्था सुधार गर्नुको सट्टा एउटा गायकले देशको यथार्थबारे बोलेको कुरालाई लिएर यस्तो प्रतिक्रिया जरुरी थिएन ।
प्रधानमन्त्री बनेपछि ‘गुमेको दृष्टि’
प्रधानमन्त्री बन्नुअघि ओली हरेक कुरामा सटिक टिप्पणी गर्थे, जुन जनताका लागि प्रिय बन्थ्यो । यद्यपि विपक्षीहरूप्रति कटू टिप्पणी गर्ने बानी भने त्यतिबेला पनि थियो ।
भारतीय नाकाबन्दीको बेलामा होस्, या अनियमितता र भ्रष्टाचारमा किन नहोस्, ओली र जनताको बोली एउटै हुन्थ्यो । सामाजिक सञ्जालमा पनि ओली निकै लोकप्रिय थिए । उनका हरेक भाषण सयौं, हजारौंपटक शेयर हुन्थ्यो । त्यसैको प्रतिबिम्ब चुनावमा देखियो । उनी नेतृत्वको गठबन्धनले झण्डै दुईतिहाइ सिट जित्यो ।
तर, जनताको दुईतिहाइ समर्थनको जगमा प्रधानमन्त्री बनेपछि ओलीको बोली फेरियो । जनतासँग उनको भनाइको तारतम्य मिल्न छाड्यो । उनले शासकको बोली बोल्न थाले । हरेक कुराको अपव्याख्या गर्न थाले । त्यही कुरा पशुपति शर्माको गीतका सन्दर्भमा पनि देखिएको छ, जुन स्वयं ओलीका लागि मात्र होइन देशका लागि पनि घातक छ ।