
काठमाडौं — शुक्रवारबाट इन्द्र कुमार निर्देशित हिन्दी फिल्म टोटल धमाल रिलिज भएको छ । धमाल फ्य्रान्चाइजीको यो तेस्रो फिल्म हो । दोस्रो धमाल फिल्म बक्स अफिसमा पूरै फ्लप भएपछि फिल्मनिर्माताहरूले ठूला स्टार राखेर सिक्वेल बनाउने निर्णय लिए र अजय देवगण, अनिल कपूर र माधुरी दीक्षित नेनेलाई राखे ।
खराब फिल्म बन्छन् अनि कुनै खराब फिल्म चाहिँ हेरुन्जेल रमाइलै लाग्छन् । तर यो फिल्म त रमाइलो पनि छैन । यस फिल्ममा पैसा गीतको पार्श्वध्वनि बजिरहन्छ र दर्शकहरूलाई पैसा नाश भएको अनुभव दिइरहन्छ । समयको सत्यानाश भएको त कुरै नगरौं ।
फिल्मको कथानक नै प्रोमोमा देखिएको पुलजस्तै कमजोर छ । हुन त यो फिल्म हेर्नका लागि दिमाग लगाउनुपर्ने अपेक्षा पनि गरिएको थिएन ।
यस्ता फिल्महरू बलियो कमेडीमा निर्भर रहन्छन् सामान्यतया । तर अर्शद वारसी र जावेद जाफ्री हराएको मरुभूमिमा पानीको अभाव भएजस्तै टोटल धमालमा कमेडीको अभाव छ ।
फिल्मको कथा भन्नुपर्दा पहिलो धमाल जस्तै मर्ने अवस्थामा रहेको एक व्यक्तिले शुरूतिर जनकपुर चिडियाखानामा ५० करोड भारु लुकाएर राखिएको बताउँछन् । अनि त्यो पैसा हत्याउनका लागि पात्रहरूले पागल तरिकाले भागाभाग गर्ने सिलसिला शुरू हुन्छ । अजय देवगण, सञ्जय मिश्र, जावेद जाफरी, अरशद वारसी, पारपाचुके लिन लागेका अनिल कपूर र माधुरी दीक्षित, बोमन इरानी र रितेश देशमुख चिडियाखानामा पहिले पुग्नका लागि दौडन्छन् ।
तर चिडियाखाना पुग्दा उनीहरूले अर्कै किसिमको समस्या भोग्नुपर्छ । उनीहरूले त्यो बाधालाई कसरी पार गर्छन् र पैसा पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा यस फिल्मको कथा अडिएको छ । त्यसो त फिल्ममा जनावरहरूका विषयमा एउटा सन्देश पनि दिइएको छ तर फिल्म हेर्दा टाउको दुखेर तपाईं त्यो सन्देशै पत्तो पाउनुहुन्न । तपाईं पनि फिल्ममा बाँदरले पञ्जाले मुखमा हानेको जस्तो अनुभव गर्नुहुन्छ ।
यो फिल्ममा अलिकति हेर्न हुने कुरा भनेको अनिल कपूर र माधुरी दीक्षितको जोडी हो र उनीहरूले दुई दशकपछि पनि शुद्ध केमेस्ट्री र पार्टनरशिप रहेको प्रमाणित गरेका छन् । उनीहरूले गुजराती र मराठी भाषामा गरेका संवाद आदानप्रदानले तपाईंलाई थोरबहुत मुस्कान दिन्छन् ।
अजय देवगणको पात्र झुर तरिकाले लेखिएको भए पनि उनको अभिनय राम्रो छ । अब्बल अभिनेता सञ्जय मिश्रले भने फिल्ममा केही पनि गर्न पाएका छैनन् ।
अरशद वारसी र जावेद जाफरीले अघिल्ला दुई फिल्ममा बरू राम्रो काम गर्न पाएका थिए र यसमा उनीहरूको कमेडी बनावटी लाग्छ ।
पान चपाउने अग्निनियन्त्रकको भूमिकामा रितेश देशमुखले अलिअलि हसाउँछन् । अनि फिल्ममा मुंगडा भन्ने एउटा गीत राखिएको छ जसमा सोनाक्षी सिन्हा नाचेकी छन् । त्यसको कुनै अर्थ छैन ।
समग्रतामा भन्नुपर्दा यो फिल्ममा गरिएको ओभरयाक्टिङले दर्शकको टाउको दुखाउँछ । अधिकांश संवादहरू सुन्दै विरक्ति लाग्ने खालका छन् र सीजीआई इफेक्टहरू रद्दी छन् ।
यो फिल्म त बरू पूरै जनावरहरूमा केन्द्रित रहेर बनाइएको भए नि हुन्थ्यो जस्तो दर्शकलाई लाग्छ ।
जोकहरू सबै ह्वाट्सयापमा फर्वार्ड गरिने स्तरका छन् र अभिनेताहरूले जोक सुनाउनुअघि नै दर्शकले थाहा पाइसक्छन् । कमेडी भनेको चिच्याउने र क्यारिकेचर गर्ने काम मात्र हैन भनी बलिउडले कहिले बुझ्ने ?
ग्रेट ग्रान्ड मस्ती र डबल धमाल जस्ता फिल्ममा रमाउने तपाईंको स्तर हो भने यो फिल्म तपाईंलाई मन पर्छ । नभए तपाईं सप्ताहान्तमा यो फिल्म हेर्नु भन्दा पनि अरू कुनै गतिलो काम गर्न जानुभए हुन्छ ।
इन्डिया टुडेमा प्रकाशित लक्षणा एन पलटको समीक्षा