
बुटवल – ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बढ्दो युवा विदेश पलायनलाई रोकेर मुलुक निर्माणमा लगाउनुपर्ने बताएका छन् ।
रोजगारीका लागि विदेश जाने युवाहरू नरोकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै ती युवालाई रोजगारीका लागि अवसरहरू मुलुकमै सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । त्यसका लागि प्रदेश सरकारले योजनाहरू बनाइरहेको मन्त्री बरालको भनाइ छ ।
राष्ट्रिय युवा परिषद्ले बुटवलमा आयोजना गरेको युवामैत्री स्थानीय तह सम्बन्धी २ दिने छलफल तथा परामर्श कार्यक्रमको शनिवार उद्घाटन गर्दै मन्त्री बरालले अब युवाहरूको क्षमता विकास गरी उनीहरूलाई मुलुकको सिर्जनाशीलतामा लगाउनुपर्ने बताए ।
‘वैदेशिक रेमिट्यान्सले मुलुक विकास हुँदैन,’ मन्त्री बरालले भने, ‘मुलुकमा ३ तहका सरकार छन् । यी तीनै सरकारले युवाहरूलाई देश विकासमा लगाउन जरूरी छ ।’
युवालाई स्वदेशमै काम गर्ने वातावरण नबन्दासम्म मुलुकले समृद्धि हाँसिल गर्न नसक्ने मन्त्री बरालको भनाइ थियो । ‘नेपालमा युवाहरू धेरै छन् । ती युवा सबै खाडी राष्ट्रमा छन् । तिनीहरूको योग्यता र क्षमता र प्रतिभा अन्यत्र प्रयोग भएको छ । अब तिनीहरूलाई नेपालको श्रम बजारमा लगाए मात्र मुलुकको तीब्र विकास हुन्छ । नत्र मुलुकले विकासको गति लिन सक्दैन,’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा विकासका लागि दीर्घकालीन रणनीतिका साथ परिषद् अगाडि बढेको बताए । परिषद्को भिजन गुणस्तरीय शिक्षा, रोजगारी, उद्यमशिलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास र खेलकुद र मनोरञ्जन रहेका छन् ।
जिल्ला युवा समिति रूपन्देहीका अध्यक्ष बसन्त ढकालले आफूहरूले युवाहरूलाई सामाजिक सुशासन सम्बन्धी काम र युवामैत्री स्थानीय तह बनाउने अभियानमा काम गरिरहेको बताए । राष्ट्रिय युवा परिषद्का नारायणकृष्ण श्रेष्ठले नमूना युवामैत्री स्थानीय तह बनाउने कार्यक्रमको लक्ष्य रहेको बताए । फेदीखोला गाउँपालिका स्याङजका अध्यक्ष घनश्याम सुवेदी आफूहरूले युवाहरूलाई प्राथामिकतामा राखेर काम गरिरहेको बताए ।
कार्यक्रममा पर्वत, स्याङजा, कविलवस्तु, दाङ र मकवानपुर जिल्लाका गरी ३५ जना जनप्रतिनिधि सहभागी छन् । उनीहरूलाई माधव ढुंगेल र नारायणकृष्ण श्रेष्ठले प्रशिक्षण दिनेछन् ।