
काठमाडौ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस महासमिति बैठकले पारित गरेका पार्टीको विधान, राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावलाई लागू गर्ने विषयमा सहमति खोज्दाखोज्दै दुई महिना बिताएको छ । गएको पुस ८ गते महासमितिको बैठक सकिए पनि कांग्रेसले विधानलाई अझै अन्तिमरूप दिन सकेको छैन ।
पार्टीको विधानलाई कार्यान्वयन गर्ने क्रममा गएको माघ १० गतेबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पटकपटक बस्दै स्थगित हुँदै आएको छ । कांग्रेस कार्यसमिति बैठक आइतबार पनि बस्दैछ । राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावमा सहमति जुटे पनि विधानका विषयमा सहमतिको हलो अड्किएको छ ।
सभापति शेरबहादुर देउवासहितका नेताहरू सभापतिदेखि केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने अहिलेकै व्यवस्थालाई निरन्तरता दिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने पक्षमा छन् ।
संस्थापन पक्ष फर्काउने र गलाउने पक्षमा रहे पनि अर्को पक्ष टसमस नभएपछि सहमतिको प्रयास निरर्थक हुँदै आएको छ ।