
काठमाडौं — अमेरिकामा एकजोडी आमाबुवाले आफ्ना सन्तानमाथि क्रूरता गरेको स्वीकारेका छन् । उनीहरूले धेरैजसो बालबालिकालाई खाटमा जञ्जीरले बाँधेर राखेको मात्र नभई खान पनि नदिइकन क्रूरता देखाए ।
डेभिड र लुईस टर्पिनले रिभरसाइड काउन्टी सुप्रिम कोर्टमा आफ्नो गल्ती स्वीकार गरेका हुन् ।
उनीहरूलाई सन् २०१८ को जनवरीमा पक्राउ गरिएको थियो । घरबाट १७ वर्षीया छोरी भाग्न सफल भएर प्रहरीलाई खबर गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
उक्त दम्पतीका बच्चाहरूको उमेर दुईदेखि २९ वर्ष थियो । बच्चाहरूको तौल एकदमै कम थियो । घरभरि मानव मल थियो ।
बच्चाहरूलाई कुटपिट गर्ने गरिएको र पिँजडामा बन्द राख्ने गरिएको अनुसन्धानकर्ताहरूले बताए । क्रूरता गर्ने पिताको उमेर ५७ वर्ष छ भने आमाको उमेर ५० वर्ष छ ।
अप्रिल महिनामा उनीहरूलाई २५ वर्षको कारावास सजाय दिइने सम्भावना रहेको छ ।
एजेन्सी