
काठमाडौं– बांग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास गर्ने सन्दिग्ध मारिएका छन् । सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ ।
सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सैनिक सूत्रले जनाएको बीबीसीले उल्लेख गरेको छ । पच्चीस वर्षको उमेर भएको ठानिएका ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।
बीबीसी बाङ्ग्लाका अनसुार सबै यात्रु र चालकदलका सदस्यहरू सकुशल रहेका छन् । चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको थियो । राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए ।