१० साउन २०८३, आइतबार

विश्वकप छनोट : नेपाल–चीन भिड्दै, कसले मार्ला बाजी ?

फागुन १३, २०७५
विश्वकप छनोट : नेपाल–चीन भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा सोमवार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । 

थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरू हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिए । 

आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै रहनेछ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । 

चीनले पाँच खेलबाट तीन खेलमा जीत र दुई खेलमा हार व्यहोर्दै छ अङ्क बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलमा जीत र एक खेलमा हार व्यहोर्दै छ अङ्क नै छ । रन रेटका आधारमा नेपाल चीनभन्दा एक स्थान तल छ । अङ्क तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहेको छ । उसले खेलेका सबै चार खेलमा जीत निकाल्दै आठ अङ्क जोडेको हो । त्यसैगरी पाँच खेल खेलेको यूएई एकमा हार तथा चारमा जित निकाल्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । 

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । 

प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेता आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

जारी प्रतियोगितामा नेपाल ग्लोबल छनोटमा पुग्न आजको खेल तथा कुवेतसँग १५ गते हुने खेल जितेर मात्र हुँदैन थाइल्याण्डले एक खेलसमेत हार्नुपर्ने हुन्छ । त्यसैले गणितीयरूपमा मात्र नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । छनोट खेलमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्