
काठमाडौं- महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।
सोमवार थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमा समेटियो । चीनका लागि झान मेइले सर्वाधिक ३३ रन बनाउँदा सियोन झौले १८ रनको योगदान दिइन् ।
बलिङतर्फ नेपालकी सिता रानामगरले ३ तथा कविता कुँवरले १ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ७७ रन बनाएको थियो ।
नेपालका लागि ओपनर सिता राना मगर ११ रनमा पेभेलियन फर्किँदा अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् । त्यस्तै बिन्दु रावल १० रन तथा इन्दु बर्माले ८ रनको योगदान दिइन् ।
बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले समान दुई/दुई विकेट लिए ।
आजको जीत नेपाली टोलीको चौथो जीत हो । नेपालको ५ खेलबाट ८ अंक छ । अहिले नेपाल तेस्रो स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल अब बुधवार कुवेतसँग खेल्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन शीर्षस्थानमा रहनुपर्ने हुन्छ । ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना नेपालले कायमै राखेको छ ।