
काठमाडौं- कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वको चयन गर्न चुनाव आगामी चैत १६ गते हुँदैछ ।
यसैबीच वृहत लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएका अधिवक्ता सुनिलकुमार पोखरेलको प्यानलले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।

उनीहरूको चुनावी अभियान आइतवार झापाबाट शुरू भएको हो । त्यस्तै सोमवार पोखरेल समूहले सुनसरी र सप्तरीमा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । राजविराज उच्च अदालतमा भएको कार्यक्रममा उल्लेख्य संख्यामा कानून व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले न्यायापालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको बताए । उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन 'जुडिसिएल ट्रेन्ड एनालाइसिस'को शुरूआत गर्न आफूले उम्मेदवारी दिएको बताए ।

