११ साउन २०८३, सोमबार
पंगु बन्यो प्रहरी

‘नक्कली सहसचिव’लाई प्रहरी एस्कर्टिङ ! पोखरा पुगेपछि खुल्यो पोल

फागुन १४, २०७५
‘नक्कली सहसचिव’लाई प्रहरी एस्कर्टिङ ! पोखरा पुगेपछि खुल्यो पोल

पोखरा – आफूलाई सहसचिव बताउँदै प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याउँदै हिँडेका एक व्यक्ति पोखरामा पक्राउ परेका छन् ।

राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव भएको बताउँदै प्रहरी र जनप्रतिनिधिलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले इलामका १७ वर्षीय सन्देश रम्तेललाई पक्राउ गरेको हो ।

लेकसाइडको एक होटलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रम्तेलसहित उनका सवारी चालक संगम राईलाई समेत पक्राउ गरेको छ ।

राष्ट्रिय बाल अधिकार संरक्षण समितिको सहसचिव भन्दै विभिन्न जिल्लामा प्रहरीलाई झुक्याएको र होटल तेन्जिङ हिलारीमा खाएको ३५ हजार रुपैयाँ नतिरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनले रातो नम्बर प्लेटको स्कोरपिओ भाडामा लिएर बा२झ १६६३ नम्बरको सेतो (सरकारी) नम्बर प्लेटको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र गुरुङले बताए । ‘आफूलाई सहसचिव भएको बताउँदै गाडीको नम्बर प्लेट समेत नक्कली बनाएर चलाएको अवस्थामा हामीले पक्राउ गरेका छौं,’ उनले भने, ‘रम्तेलको साथबाट अन्य कागजात समेत फेला परेका छन् । आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छाैं ।’ रम्तेलले २ दिनका लागि २५ हजार रुपैयाँमा गाडी भाडामा लिएर सेतो नम्बर प्लेट राखेको खुलेको छ ।

यसअघि रम्तेलले गत माघमा लेकसाइडको तेन्जिङ हिलारी होटलमा २ कोठा बुक गरेर बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । रम्तेल र उनका चालकले प्रहरीलाई दिएको बयान अनुसार उनी जुन ठाउँमा पुग्छन्, त्यहीँ ठाउँमा प्रहरी कार्यालयमा फोन गरेर आफू सहसचित भएको बताउँदै बाटोमा एस्कर्टिङ माग गर्दै आएका थिए । 

यसअघि उनलाई तनहुँमा प्रहरीले एस्कर्टिङ गरेको थियो । उनीहरूलाई कास्की प्रहरी, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले समेत सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ ।

रम्तेलले आइतवार आफूलाई सहसचिव बताएर पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपन समेत लिएका थिए । उनले उपमेयर मञ्जुदेवी गुरुङलाई भेटेर गुरुङकै सिफारिसमा १० लिटरको कुपन लिएको प्रहरीसँग बयान दिएका छन् ।

लेकसाइडमा होटल सञ्चालकलाई रम्तेलले पैसा नतिरेपछि उनले प्रहरीलाई उजुरी गरेका थिए । उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सहसचिव बताउँदै ठगी गर्ने रम्तेलमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्