३१ असार २०८३, बुधबार

भारतीय विमानले कुनै क्षति नगरेको बालाकोट नजिकका गाउँलेको भनाइ

फागुन १५, २०७५
भारतीय विमानले कुनै क्षति नगरेको बालाकोट नजिकका गाउँलेको भनाइ

काठमाडौं — पाकिस्तानको जब्बा गाउँका बासिन्दाहरू मंगलवार बिहान सखारै एकपछि अर्को विस्फोटको आवाजले उठे । भारतीय वायुसेनाका विमानहरूले उक्त गाउँमाथिको डाँडामा बम खसाएको भनिएको छ । 

बालाकोट शहरबाट उक्त गाउँ ३० किलोमिटर उत्तरपूर्वमा पर्छ र बालाकोट शहर सन् २००५ को ठूलो भूकम्पमा क्षतिग्रस्त भएको थियो । 

‘हामीहरू पाँच ठूला विस्फोटपछि उठ्यौं,’ एक स्थानीय बासिन्दाले बताए । विस्फोटको आवाजपछि विमान उडेको आवाज पनि सुन्यौं । खसाइएका बमहरू डाँडाका भिरालामा पड्किए । उक्त डाँडामा हरिया खेत र सल्लाका रुख रहेको र बम खसाइएपछि ठूलो खाल्डो परेको उनको भनाइ छ । 

अर्का एक व्यक्ति खैबर पख्तुनख्वाको बालाकोट तहसिलमा रहेको जब्बामा थिए र उनले के भएको हो भन्ने कुराको वर्णन गरे ।

‘पहिलो विस्फोटपछि म के भएछ भनी बुझ्न कोठाबाहिर दौडिएँ । मैले चम्किलो कुरा देखें र कोठाभित्र गएँ । मेरी आमाल मलाई बोलाउनुभयो । मैले लगातार एकपछि अर्को ठूलो आवाज सुनें । त्यो डरलाग्दो आवाज थियो, म त्यसको व्याख्या गर्न सक्दिनँ,’ मोहम्मद जाकिरले बताए । 

उनको घरअगाडि १० फीट गहिरो खाडल परेको छ र घरलाई क्षति पुगेको छैन । 

उक्त क्षेत्रको दृश्य हेर्दा माटो खैरो भएको र खाल्डो परेको ठाउँनजिक सालका केही रुखहरू लडेको देखिन्छ । 

केही अन्य गाउँलेले उक्त क्षेत्रको प्रत्यक्षदर्शी बयान दिए । तीमध्ये केहीले बमका टुक्रा पनि ल्याएका थिए । 

अरूले रुखहरूमा आगो लागेको देखे । ‘त्यहाँ डढेका केही रुख छन्, अरू केही पनि छैन,’ जाहिद हुसेन शाहले भने । ‘केही रुखमा आगो लागेको जस्तो देखिन्छ,’ अर्का प्रत्यक्षदर्शीले भने । 

गाउँका केही स्थानीयहरूले पाकिस्तान वायुसेनाका विमान आकाशमा उडिरहेको देखेको बताए । 

भारतले आक्रमण गरेको क्षेत्रमा एउटा एकतल्ले घर छ र आसपासमा अन्य कुनै पनि संरचना छैन जसले गर्दा भारतीय विमानहरू भाग्ने क्रममा पेलोड खसाएको भन्ने पाकिस्तानी दृष्टिकोणलाई विश्वासयोग्य बनाउँछ । 

जम्मा एकजनालाई चोट लागेको छ र उनी ६० वर्षीय नूरन शाह हुन् । विस्फोटको प्रभावका कारण उनको माटोले बनेको घरको ढोका उप्किएको थियो र उनको टाउकोमा बज्रिएको थियो । उनलाई प्राथमिक उपचारपछि एक स्थानीय अस्पतालबाट छुट्टी दिइएको थियो । 

स्थानीय बासिन्दाहरूले बम आक्रमणपछि कुनै पनि एम्बुलेन्स वा बाहिर लग्ने वाहन नदेखेको बताए । लडाकूको प्रशिक्षण शिविरलाई तारो बनाएको अनि सयौंलाई मारेको भनी भारतले गरेको दाबीलाई विश्वास गर्ने ठाउँ छैन ।

डन डट्कमबाट
 

salt training

कमेन्ट गर्नुहोस्