०७ असार २०८३, आइतबार

पाकिस्तानमा लडाकू शिविर नष्ट गरेको भारतीय दाबीमा विज्ञहरूले गरे शंका

फागुन १५, २०७५
पाकिस्तानमा लडाकू शिविर नष्ट गरेको भारतीय दाबीमा विज्ञहरूले गरे शंका

काठमाडौं — रक्षा मामिलाको अवलोकन गर्ने मिडिया आउटलेट जेन्स इन्फर्मेसन ग्रूपका एक विज्ञले नियन्त्रण रेखानजिक एक प्रमुख लडाकू शिविरमा आक्रमण गरेर त्यसलाई ध्वस्त बनाइएको र ३५० भन्दा बढी मानिस मारिएको भारतीय दाबीमाथि प्रश्न उठाएका छन् । 

‘उनीहरूले केमा प्रहार गरे भन्ने कुरा अहिलेसम्म अनुमानमा सीमित छ । उनीहरू आतंकवादी शिविरमा आक्रमण गरेको भनेका छन् तर थुप्रै जासूसी सूत्रहरूले पाकिस्तानमा रहेका ती शिविर हालैका दिनमा हटाइएको बताएका छन्,’ लन्डनमा रहेको समूहका एक विश्लेषक राहुल बेदीले बताए । 

‘यो अरू भन्दा पनि राजनीतिक प्रतीकवाद हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि भारतका तर्फबाट कारवाही भएको देखाउनैपर्ने थियो,’ उनले थपे । 

‘पाकिस्तानीहरूले प्रतिक्रिया दिने नै छन् र परम्परागत रूपमा दिनेछन्, लडाकू समूहको प्रोक्सीमार्फत हैन । उनीहरूले कसरी जवाफी कारवाही गर्छन् र कहिले गर्छन् भन्ने कुरा पाकिस्तानलाई मात्र थाहा छ । यो खतरनाक स्थिति हो किनकि यो चाँडै चर्किन सक्छ ।’

द न्युयोर्क टाइम्सले पनि विश्लेषक र कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै भारतीय वायुसेनाका आक्रमणको टार्गेट अस्पष्ट रहेको किनकि कश्मीर आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफी कारवाही गर्ने भनी चेतावनी दिएपछि सीमाक्षेत्रमा सक्रिय रहेका आतंकवादी समूहलाई हालैका दिनमा हटाइएको हुनुपर्छ । 

बीबीसीले बालाकोटको जब्बामा रहेका स्थानीय बासिन्दासँग कुराकानी गरेर तयार पारेको रिपोर्टमा उनीहरूले अबेर राति पाँचवटा ठूला विस्फोटको आवाज सुनेको बताए । केही घरहरूमा बम खसेको र रुखहरू उखेलिएको भए पनि आक्रमणमा कोही पनि नमारिएको उनीहरूको भनाइ छ । 

‘लडाकू विमानले कुनै उल्लेख्य कुरामा आक्रमण गरेको हो होइन भन्ने अनि यो कारवाही कश्मीरमा भएको आक्रमणका कारण जन्मेको आक्रोशलाई मिलाएर मत्थर पार्न गरिएको हो भन्ने स्पष्ट छैन,’ द गार्डियन पत्रिकाले लेख्यो ।

डन डट्कमबाट

कमेन्ट गर्नुहोस्