काठमाडौं, ३० फागुन — नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेलाई भ्रष्ट पार्टीको आरोप लगाएका छन् । कांग्रेस–एमालेको डीएनएमै भ्रष्टाचार रहेको भट्टराईले आरोप लगाए ।
राजधानीको माइतीघरमा सोमवार कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्को माग गर्दै दश लाखको हस्ताक्षरसहित धर्नामा बसेका भट्टराईले कांग्रेस–एमाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका हुन् ।
भट्टराईले सत्तासीन पार्टीहरू भ्रष्टाचारमा डुबेको र भागबण्डा गरेर सरकारी रकम दुरुपयोग गरिरहेको आरोप लगाए । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी सरकार पनि भ्रष्टाचार गर्नमा पछि नपरेको आरोप लगाए ।
‘कांग्रेस र एमालेको भ्रष्टाचारलाई समेत अहिलेको सरकारले उछिनेकोछ,’ उनले भने ।
निर्वाचनका लागि पैसाको खोलो बगाउन माओवादी केन्द्रका नेतालगायत विपक्षी दलले भागबण्डा गरेको उनले आरोप लगाए । सरकारको प्रत्येक नियुक्तिमा दलहरूले पैसाका लागि भागबण्डा गर्ने गरेको उनको भनाइ थियो । भट्टराईले सप्तरी घटनामा सरकारले गल्ती गरेको भन्दै त्यस घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।
फरक प्रसंगमा उनले एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने ३३ अर्ब रुपैयाँ मिनाहा गर्न मन्त्रिपरिषद्ले ठाडो आदेश दिएर भागबण्डामा लागेको उनले बताए ।