०८ असार २०८३, सोमबार
भारत-पाकिस्तान तनाव

कसरी सम्भव भयो भारतीय सैन्य पाइलट अभिनन्दनको रिहाइ ?

फागुन १७, २०७५
कसरी सम्भव भयो भारतीय सैन्य पाइलट अभिनन्दनको रिहाइ ?

काठमाडौं — पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन वर्धमानको रिहाइ भारतको परराष्ट्र मन्त्रालयका लागि ठूलो विजय हो । यसले अब आणविक शक्तिसम्पन्न दुई मुलुकबीचको युद्ध नचर्किने दिशामा योगदान गरेको छ । यो रिहाइका पछाडि कूटनीतिको गहन भूमिका छ । 

इस्लामाबादले संसारका प्रमुख देशका वार्ताकारहरूसँग बुधवार फोन संवाद गरेको थियो । सुरक्षा परिषद्का पाँच राष्ट्र पनि यसमा समावेश थिए । पाकिस्तानले भारतका तर्फबाट तीनवटा आक्रामक कारवाहीको योजना बनिरहेको र जलसेनाका जहाजहरू कराँचीतर्फ बढिरहेको बतायो । अनि भारतले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने योजना बनाएको र भारत–पाकिस्तान सीमामा सैनिकहरू जम्मा गरिरहेको पनि उसले बतायो । 

यो खबर सुनेपछि आत्तिएका देशहरूले नयाँ दिल्लीलाई सम्पर्क गरे । भारतले उनीहरूलाई यो ‘काल्पनिक र बनावटी’ दाबी भएको बताएको थाहा हुन आएको छ । भारतीय जलसेनाका जहाजहरू कराँचीबाट अन्तै लागेको कुरा चाहिँ सत्य भएको भारतले उनीहरूलाई बतायो । तपाईंहरूले जहाजका गतिविधिलाई आकाशबाटै देख्न सकिहाल्नुहुन्छ र पाकिस्तानको दाबीको जाँचबुझ गर्न सक्नुहन्छ भन्ने आशयको जवाफ भारतले दियो । 

भारतले विदेशीहरूलाई स्पष्ट पार्दै भन्यो, युद्ध चर्काउने नियत आफूहरूको हैन र आफूले पाकिस्तानको निकै भित्र गएर ‘गैरसैन्य प्रतिआतंकवादी प्रिएम्प्टिभ’ आक्रमण गरेको हो । खासमा पाकिस्तानले भारतका सैन्य अड्डाहरूमा आक्रमण गर्न चाहेको भारतको भनाइ रह्यो । 

विदशी वार्ताकारहरूलाई भारतले पाकिस्तानका २० वटा लडाकू विमान भारतीय सैन्य पोस्टमामा पुगेको र नियन्त्रण रेखा उल्लंघन गरेको बतायो । ती पाकिस्तानी विमानले लेजरमा निर्देशित बमहरू प्रहार गरेको र पाकिस्तानी सेनाको भनाइ विपरीत ती बम ‘पत्थर र रुख’ मा नठोकिएको अनि तिनले भारतका सैन्य ठेगानालाई अलिकतिले मात्र मिस गरेको भारतको भनाइ थियो । 

यसलाई दिल्लीले ‘आक्रामक गतिविधि’ का रूपमा लियो र सरकारले पाकिस्तानलाई बुधवार यही कुरा भन्यो । अनि पाकिस्तानका प्रधानमन्त्री इमरान खान र पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफूरले दुईवटा भारतीय लडाकू विमान र दुई पाइलटलाई खसाइएको भन्ने दाबीलाई पनि भारतले अस्वीकार ग–यो । नयाँ दिल्लीले विदेशीहरू भन्यो, खानलाई पाकिस्तानी सेनाले वास्तविक क्षतिका र हताहतीका बारेमा सही जानकारी दिएन अथवा झूटो दाबी ग–यो । 

भारतले यो आक्रमणको जवाफी कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा केही खुलासा गरेन । आखिर भारतको एक मिग विमानलाई गोली हानी खसाइएको थियो र सैन्य पाइलट पाकिस्तानको हिरासतमा पुगे । तर भारतले युद्ध नचर्किनमा पाकिस्तानले नै जिम्मेवारी लिनुपर्ने बतायो । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बुधवार कुराकानी गरे । नयाँ दिल्लीले भारतमा रहेका विभिन्न देशका राजदूतलाई आफ्नो उद्देश्य सीमित रहेको बतायो ः त्यो भनेको आतंकवादी शिविरलाई तारो बनाउने हो र यो मिसन पूरा गर्न आफू सफल रहेको बतायो ।

तर पाकिस्तानको हिरासतमा एकजना भारतीय पाइलट थिए र सन् १९४९ को जेनेभा महासन्धिअनुसार युद्धबन्दीलाई मानवीय रूपमा व्यवहार गर्ने र सुरक्षित फर्काउने पाकिस्तानको जिम्मेवारी रहेको भारतले बतायो । दिल्लीले यस विषयमा कुनै सम्झौता नगरिने र पाइलटलाई कुनै हानि गरिएमा वा रिहा नगरिएमा पाकिस्तानले कठोर परिणाम भोग्नुपर्ने अडान राखेको स्रोतहरूले बताए । 

अनि इस्लामाबादले आफूलाई एक्ल्याइएको अनुभव ग–यो किनकि सुरक्षा परिषद्का सबै पाँच मुलुक उसका पक्षमा उभिएनन् र धेरैजसोले त पाकिस्तानलाई आतंकवादी समूहविरुद्ध कारावही चलाउन भने । ओआईसीले भारतलाई गरेको नियन्त्रण फिर्ता लिनुपर्ने पाकिस्तानको मागलाई यूएई समेतले बेवास्ता ग–यो । 

अमेरिका, युरोपेली संघ, साउदी अरब र यूएईले समेत पाकिस्तानलाई साथ नदिएपछि इस्लामाबादसँग कुनै विकल्प रहेन । पाकिस्तानी जनताका लागि इमरान खानले बालाकोट आक्रमणको प्रतिशोधस्वरूप एक भारतीय विमान खसाइएको र भारतीय विमानचालक पक्राउ गरिएको भन्न पाए । तर अहिले ती विमानचालकलाई रिहा गर्ने घोषणा गरेर पाकिस्तानी सेनाले आफूलाई एक व्यावसायिक बल भएको देखाउने अवसर प्राप्त भएको छ । यसले पनि भारतलाई चर्का कुरा नगर्न प्रेरित ग–यो । 

साँझसम्म भारतका तीनैथरी सेनाले आफूहरू युद्धका लागि तयार रहेको सन्देश दिए र थप आक्रमण नभएमा युद्ध नचर्काउने बताए । प्रतिशोधात्मक कारवाही नगर्ने भारतीय सेनाको सन्देशले पाकिस्तानका साथसाथै अन्तर्राष्ट्रिय समुदायलाई पनि राहत दियो ।

अहिले भारत आफ्ना विमानचालकको फिर्तीको प्रतीक्षा गरिरहेको छ तर पाइलटको फिर्ती र पाकिस्तानले आतंकवादी समूहमाथि विश्वसनीय कारवाही चलाउनुपर्ने आफ्नो मागका विषयमा कुनै सम्बन्ध नरहेको बताइरहेको छ । यसै सन्दर्भमा जैश आतंकवादी समूहका विषयमा भारतले पाकिस्तानलाई प्रमाणसहितको दस्तावेज बुझाएको छ र अहिले इमरान खानले आतंकवादीमाथि कारवाही चलाउने अपेक्षा गरिरहेको छ । इमरान खानले पुलवामा आतंकवादी आक्रमणपछि यस्तो प्रमाणको माग राखिरहेका छन् ।

दी इन्डियन एक्सप्रेसमा प्रकाशित शुभजीत रोयको रिपोर्ट

salt training

कमेन्ट गर्नुहोस्