१० साउन २०८३, आइतबार

निर्माणको अन्तिम चरणमा बुटवल–बेलहिया ‘सिक्स लेन’ सडक, फागुनभित्रै जोडिने

फागुन २३, २०७५
निर्माणको अन्तिम चरणमा बुटवल–बेलहिया ‘सिक्स लेन’ सडक, फागुनभित्रै जोडिने

बुटवल – निर्माणाधीन बुटवल–बेलहिया ‘सिक्स लेन’ सडक यही फागुनभित्र जोडिने भएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका अनुसार अब करीब एक किलोमिटर सडक मात्र कालोपत्रे गर्न बाँकी छ ।

आयोजनका इञ्जिनीयर गोविन्द श्रेष्ठले सडक निर्माण अन्तिम चरणका पुगेको बताए । ‘अब झण्डै १२ सय मिटर मात्र ‘पिच’ गर्न बाँकी छ । मौसमले साथ दिए फागुनभित्र नै बुटवल–बेलहिया (सुनौली) जोडिन्छ । ‘सर्भिस लेन’ बाँकी रहन्छ’ आयोजनाका प्रवक्तसमेत रहेका श्रेष्ठले भने ।

चार वर्षभित्र सम्पन्न गर्ने गरी थालिएको सडक आठ वर्षमा बल्ल निर्माणको अन्तिम चरणमा पुगेको हो । सर्भिस लेन भने आठ किलोमिटर बन्न बाँकी छ । मणिग्रामदेखि भैरहवाको अञ्चलपुरसम्म सर्भिसलेनको काम भएको छैन । यो सडक २७.५ किलोमिटरको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा लामो समयदेखि स्थानीयले ठूलो सास्ती खेप्नु परेको छ । चार वर्षभित्रसम्म गर्ने गरी शुरू गरिएको आयोजना झण्डै ८ वर्षमा सकिने गरी निर्माणको अन्तिम चरणको काम भइरहेको छ । २०६८÷०६९ बाट निर्माण कार्य शुरू गरिएको थियो । आयोजना प्रमुख जीवेन्द्र मिश्रले फागुनभित्रै सिक्स लेन जोडने गरी काम भइरहेको बताए । 

आयोजनाका लागि अझै करीब ७० हजार घनमिटर नदीजन्य पदार्थ आवश्यक रहेको आयोजनाको भनाइ छ । चैत मसान्तसम्म मात्र ठेकेदारहरूको म्याद छ । ‘चैत मसान्तभित्र नसक्नेको ठेक्का सम्झौता थप हुँदैन । चैतभित्र सर्भिस लेन पनि निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । केही निर्माण सामग्रको अभाव खड्किँदा सर्भिस लेनको काम रोकिएको छ,’ उनले भने ।

प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको पहलमा तिलोत्तमा क्षेत्रमा ५९ हजार ५ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन प्रक्रिया अगाडि बढेको आयोजना प्रमुख मिश्र बताए । 

३ अर्ब ५० करोड अनुमानित लागतमा आयोजना शुरू भएको थियो । समय लम्बिँदै जाँदा लागत समेत थपिँदै गएको छ । पछिल्लो मूल्यांकनमा २ अर्ब ३६ करोडबाट बढेर ५ अर्ब ८६ करोड पुगेको छ । आयोजनाले भने समयसँगै सामग्रीमा भएको मूल्यवृद्धि, पटक–पटकको टेन्डर आह्वान, आकाशे पुल र सौर्यबत्ती जडान लगायतले पनि केही रकम बढेको दाबी गरेको छ । 

राजधानी बाहिर पहिलोपटक निर्माण थालिएको ‘सिक्स लेन’ सडकले यस क्षेत्रको सौन्दर्यता बढाए पनि सुस्त गतिमा निर्माण हुँदा स्थानीय धूलोधूवाँ खान र कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका छन् । नाकाबन्दी, भूकम्प र विभिन्न अवरोधले गर्दा आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाको दाबी छ । 

उक्त सडकमा निर्माण थालिएका आकाशे पुलको निर्माण भने धामधम भइरहेको छ । आकाशे पुलहरू पनि यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने आयोजनको लक्ष्य छ । बेलहियादेखि बुटवलसम्म सिक्स लेन सडकमा १० वटा आकाशे पुल बन्दैछन् । धेरैजसो आकाशे पुल निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाका इञ्जिनीयर अरुण खत्रीले जानकारी दिए । 

योगिकुटी, राजमार्ग चौराहा, मिलनचोक, हस्पिटललाइन, ड्राइभरटोल, भैरहवा (आँखा हस्पिटल अगाडि) र देवकोटा चोकका आकाशे पुल निर्माण भइरहेका छन् । 

अदालतको फैसलाले बुटवलको सडक विस्तार रोकिएको छ । स्थानीय संस्था र दलहरूको विरोधले ढिलो भइरहेको बुटवल चौराहादेखि चिडियाखोलासम्मको तीन किलोमिटर खण्ड ६ लेनमा विस्तारको काम भने अदालतको आदेशपछि अन्यौलमा छ ।

स्थानीय उद्योगी व्यवसायी र राजनीतिक दलहरूले सडकखण्ड विस्तार आवश्यक नरहेको भन्दै एक वर्षसम्म गरेको अवरोध हटेर काम शुरू हुनै लाग्दा नारायणदेवी प्रधानलगायत २२ जनाले क्षतिपूर्तिको माग गर्दै सडक विस्तार रोक्न दायर गरेको मुद्दामा सुनुवाइ गर्दै वैशाख १२ गते उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले ‘प्रक्रिया पु¥याएर मात्र निर्माण गर्न’ परमादेश जारी गरेको थियो । 

अदालतको आदेश आउँदासम्म यो खण्डमा सडक मिचेर निर्माण भएका ३८४ मध्ये १९६ वटा घर र संरचनाहरू भत्काइसकिएका छन् । जसमध्ये ८३ घर बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले बलपूर्वक र बाँकी घरधनी आफैंले भत्काएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्