
धनगढी – कञ्चनपुरमा ठूलो परिमाणमा सुन बरामदको भएको एक महिना बित्न नपाउँदै छिमेकी जिल्ला कैलालीको चिसापानीबाट बुधबार राति प्रहरीले २ किलो सुन बरामद गरेको छ ।
२ किलो २३२ ग्राम सुन र करीब १० किलो चाँदीका विभिन्न सामग्री सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको सुन चाँदीसहित संलग्न व्यक्तिहरूलाई बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीले १२ टुक्रा (२ किलो २३२ ग्राम) सुन, चाँदी बडर भएको काठको फ्रेम ४३ थान, चाँदीको टीकादानी १२ थान, चाँदीको करुवा १० थान, चाँदीको सतपाला ७ थान, चाँदीकाको आचमानी ३२ थान, चाँदीको पञ्चपाक ३२ थान, चाँदीको नागसहितको औंठी १८ थान बरामद गरी सार्वजनिक गरेको छ । त्यस्तै ओसारपसारमा प्रयोग भएको बा ११ च ७४१३ नम्बरको कार र ३ थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले विशेष सूचनाका आधारमा जिल्लाको लम्कीचुहानगरपालिका– ३ चिसापानी प्रहरी चेक पोष्टमा चेक जाँचको क्रममा धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैँजुले चलाएको बा ११ च ७४१३ नम्बरको कारभित्र सो सुन र चाँदी फेला पारेको जानकारी दिए ।
सुनचाँदी ओसार पसारमा संलग्न सैँजु र कारमा सवार जिल्लाको कैलारी गाउँपालिका–५ कि २५ वर्षीया सीताकुमारी चौधरीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
यद्यपि प्रहरीले थोरै परिमाणको सुनको बिल पनि भेटेको छ । थोरै रकमको बिलको आधारमा तस्करी भएको अनुमान प्रहरीको छ ।
बरामद गरिएको सुनचाँदी र संलग्न व्यक्तिहरूलाई थप अनुसन्धानका लागि विहीबार नै राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पठाउने तयारी थालेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।