
काठमाडौँ -नेपाल सरकारबाट वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र लिएका म्यानपावर व्यवसायीहरूको संस्था, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही चैत २६ गतेलाई तोकिएको छ । लामो समयसम्म हुन नसकेको निर्वाचन यही चैतमा गर्न लागिएको अध्यक्ष रोहण गुरुङले जानकारी दिए ।
संघको कार्यावधि दुई वर्षको रहने व्यवस्था गरिएको छ र प्रत्येक २ वर्षको चैत २६ गते निर्वाचन हुने प्रावधान राखिएको छ । २०७२ सालको चैतमा विविध कारणले निर्वाचन हुन सकेन र २०७३ सालको असारमा सर्यो । त्यतिबेला रोहण गुरुङ अध्यक्षको रूपमा चुनिए । अहिलेको कार्यसमितिले २१ महिनामै चुनाव गरेर नयाँ नेतृत्व छान्न लागेको गुरुङले जानकारी दिए ।
वैदेशिक रोजगारको व्यवसायलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउने उद्देश्यका साथ २०४९ सालमा संस्था स्थापना गरिएको थियो ।
