
राजविराज — राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताले राष्ट्रिय आन्दोलनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनीहरूले अर्को मधेसवादी दल संघीय समाजवादी फोरम नेपाललाई मधेसी जनताको अधिकार भुल्दै गएको आरोप लगाउँदै पार्टी एकताको प्रस्तावसमेत गरे ।
संघीय संसद्मा कैलालीबाट निर्वाचित रेशम चौधरीलाई कैलाली घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले आजीवन काराबास सजाय सुनाएपछि आक्रोशित हुँदै राजपाले बुधबार सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।
०७३ फागुन २३ गते तत्कालीन एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोलीबाट सप्तरी मलेठमा मारिएकाको सम्मानमा बिहीबार राजपा र फोरम नेपालद्वारा आयोजित श्रद्धाञ्जली सभामा राजपा नेता राजेन्द्र महतोले न्यायपालिका विभेदकारी भएको आरोप लगाएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।