
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ । उनको निर्वाचन परिचालन कमिटीका पूर्वप्रमुख पर्ल म्यानफोर्टलाई कर छली र बैंकिङ ठगी गरेको आरोपमा जेल सजाय हुने भएको छ । म्यानफोर्टलाई ४७ महिनाको जेल सजाय हुने भएको हो ।
अमेरिकी न्यायिक विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा पर्ल म्यानफोर्ट दोषी पाइएका छन् । ६९ वर्षीय म्यानफोर्टले भर्जिनियाको अलेक्जेड्रियास्थित अदालतमा बयान दिँदै आफ्नो जीवनको अन्तिम दुई वर्ष निकै कठिन भएको बताए ।
उनले लाखौं डलर हिनामिना गरेको आरोपमा जेल सजायको फैसला गरिएको हो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा अनुसन्धान गर्ने क्रममा उनीमाथि पनि अनुसन्धान शुरु गरिएको थियो ।