
काठमाडौं – सलमान खानको फिल्म भारतबाट अन्तिम समयमा हात झिकेकी प्रियंका चोपडासँग सलमान रिसाएको खबर यसअघि नै सार्वजनिक भइसकेको हो ।
तर प्रियंकाको विवाहपछिको प्रीतिभोजमा खान परिवार पनि उपस्थित भएपछि यसलाई हल्ला मात्र मानिएको थियो । तर ताजा रिपोर्टअनुसार, सलमानले सञ्जय लीला भन्सालीको आगामी फिल्ममा प्रियंकासँग काम गर्न अस्वीकार गरेका छन् ।
भन्साली र सलमान दुई दशकपछि फेरि काम गर्न गइरहेका छन् । यसैबीच एक अन्तर्वार्ताका क्रममा प्रियंकाले भन्सालीसँग एक फिल्म साइन गरेको बताएकी थिइन् । अनि यी दुई कुराको कनेक्सन जोडिएको मानिएको छ । सलमान र प्रियंकासँगै भन्साली आफैं पनि फिल्ममा देखिने कुरा छ ।
रिपोर्टहरू पत्याउने हो भने सलमान खानले प्रियंकालाई फिल्ममा लिने कुरामा आपत्ति जनाए र सँगै काम गर्न अस्वीकार गरे । तर के खबर पनि आइरहेको छ भने प्रियंका र सलमानलाई भन्सालीले लिएका त हुन् तर फरक फरक फिल्मका लागि ।
सलमान भन्सालीको एक लभ स्टोरीमा देखिनेछन् भने प्रियंका चाहिँ एक पिरियड फिल्ममा लीड रोलमा देखिनेछिन् ।
भन्सालीले गंगूबाई फिल्मको शीर्षक दर्ता गरिसकेका छन् । यही फिल्ममा प्रियंकालाई लिने कुरा चलेको हो । मुम्बईको कमाठीपुरास्थित वेश्यालय चलाउने महिला गंगूबाईको जीवनमा यो फिल्म बन्न लागेको हो । पछि गंगूबाईले जबर्जस्ती वेश्यावृत्तिमा धकेलिएका महिलालाई उद्धार पनि गरिन् ।
एजेन्सी