२२ जेठ २०८३, शुक्रबार

यसरी भयो प्रधानमन्त्रीको निगरानीमा सीके राउतसँग वार्ता

फागुन २५, २०७५
यसरी भयो प्रधानमन्त्रीको निगरानीमा सीके राउतसँग वार्ता

काठमाडौं– असन्तुष्ट समूहसँग वार्ता गर्नका लागि भन्दै सरकारले गत साउनमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा राजनीतिक वार्ता टोली बनायो । मुलुक विखण्डनको माग राख्दै आन्दोलनरत सिके राउत नेतृत्वको मधेस गठबन्धनसँग भने टोलीले वार्ता गरेन ।

पुसमा म्याद सकिने बेला टोलीले सरकारलाई नेक्रवित्रम चन्द र तराईमा आन्दोलनरत सिके राउत समूहलाई निगरानी गर्न सुझाव मात्र दियो । पाण्डेको वार्ता टोली सक्रिय रहेकै बेला राउत समूहका नेताहरू भने पाण्डेभन्दा उच्च तहका व्यक्तिसँग सम्पर्क बनाउन खोजिरहेका थिए । त्यही क्रममा संयोजक राउतका दाइ जयकान्तले पाण्डेसँग पनि अनौपचारिक रूपमा भेटे । त्यो बेला पाण्डेभन्दा माथिल्लो स्तरको वार्ताका लागि मेसो मिलेन ।

पाण्डेको वार्ता टोलीको म्याद पुस पहिलो साता सकियो । राउतका दाजु जयकान्त र चन्दन सिंह गठबन्धनका तर्फबाट सरकारसँग उच्चस्तरको सम्बन्धका लागि थप सम्पर्क सूत्रको खोजीमा लागे । संयोजक राउत पक्राउ परे पनि गठबन्धनको कार्यवाहक संयोजकका रूपमा सिंह तोकिएका थिए । धेरै नेता–कार्यकर्ता पक्राउ पर्न थालेपछि संयोजक राउतले दाजु जयकान्त र सिंहलाई आफ्ना तर्फबाट सबै काम गर्ने अख्तियारी दिएका थिए । त्यही अख्तियारीअनुसार सहजकर्ताका रूपमा काम गर्ने गरी सिंह माघ पहिलो साता राजधानी आए ।

‘राजधानी आएपछि केही साथीसँगको सम्पर्कबाट अनौपचारिक वार्ता गर्न थालियो,’ गठबन्धनका तर्फबाट सहजकर्ता सिंहले भने, ‘त्योभन्दा तीन–चार महिना अघिबाटै केही अनौपचारिक पहलचाहिँ भइरहेको थियो ।’ सिंहले सम्पर्क सूत्रका रूपमा प्रयोग गरेका व्यक्तिबाट सकारात्मक पहल भएपछि यो विषयलाई प्रधानमन्त्रीले प्रत्यक्ष चासो दिए । गोप्य रूपमा प्रक्रिया अघि बढाउन नेकपाका महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई जिम्मा दिए । दुई पक्षबीच धेरै चरणका वार्ता राजधानीमै भए ।

वार्ता सकारात्मक बन्न थालेपछि सिंहले जेलमा रहेका राउतलाई सम्पर्क गर्थे । यता प्रधानमन्त्रीलाई आफ्नै सल्लाहकार समूहले ब्रिफिङ गथ्र्यो । स्रोतका अनुसार वार्ता सहमतिमा पुग्न सक्छ भन्ने लागेपछि गृहमन्त्री रामबहादुर थापालाई पनि यो विषय जानकारी गराइयो । गृह मन्त्रालयका अधिकारीहरूलाई वार्तामा भने राखिएन । ‘प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम मिहीन ढंगले अघि बढेको थियो,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘यसरी नगरेको भए सफल हुने थिएन ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्