
सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रवारदेखि शुरू भएको क्यान इन्फोटेक मेलामा विभिन्न प्रविधियुक्त सामानहरू प्रदर्शन गरिएको छ ।
कर्णाली प्रदेशलाई प्रदेश सरकारले डिजिटल प्रदेश बनाउने निर्णय गरेसँगै सोही सरकारको अभियानलाई थप सहयोग गर्न मेला आयोजना गरिएको क्यान कर्णालीका संयोजक पूर्णदेव अधिकारीले जानकारी दिए । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा फागुन २४ देखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सञ्चालन हुनेछ ।

सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सञ्चालन गर्न लागिएको क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार इन्फोटेक सञ्चालनका लागि करीब ३६ लाख रुपैयाँ खर्च हुनेछ । आयोजक क्यान महासंघ सुर्खेतका अनुसार ‘आईएमई पे’ मुख्य प्रायोजक रहेको उक्त इन्फोटेकको नाम नै ‘आईएमई पे’ क्यान इन्फोटेक राखिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिए ।

इन्फोटेकमा करीव ७० वटा स्टल रहेका छन् । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरू सहभागी भएका छन् भने नेपालमा भित्रिएका नयाँ प्रविधिहरूको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहनेछ ।

मेलाभित्र आईसीटी कन्फ्रेन्स, आईटी वर्कसपहरू डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन हुनेछन् । इन्फोटेक मेलालाई करीब १ लाखले जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा प्रमुख आकर्षण केन्द्र रोबोट रहेको आयोजकको भनाइ छ ।
