
काठमाडौँ–गोरखाकी ४६ वर्षिया जानुका पौडेल सधैं नौला काम गर्न मन पराउँथिन् । पतिसँगै काठमाडौँमा रेष्टुरेन्ट चलाइरहेकै बेला उनलाई समाजमा अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्योे तर पतिसँग मत नमिलेपछि सम्बन्ध विच्छेद गरेर बालक छोरा काखी च्याप्दै उनी एक्लै नौलो सिर्जनामा जुटिन् ।
महिला दिवसकै स्मरणमा उहाँले ‘आठ मार्च’ सशक्तीकरण मञ्च र आठ मार्च कृषि सहकारी संस्था २०७० सालमा गठन गरिन्। कृषि फर्म नै खोलेर किसानी र व्यवसाय दुबै काममा उनले सफलता हात लगाउँदै अरूका लागि उदाहरणीय बनिन् ।
उनको नौलो काम गर्ने धोको यतिमै सीमित रहेन । सहकारीमा महिला आवद्ध गराउँदै नयाँ काम गर्नुपर्छ भन्ने उद्देश्यले उनले महिला नौमती बाजाको समूह गठन गरिन् । “सधैँ दलित समुदाय र त्यसमा पनि पुरुषले बजाउँदै आएको नौमती र पञ्चेबाजा गृहणीले बजाउन सक्छन् भन्ने आँटले थालियो,” उनले विगत सम्झँदै थपिन्, “कतिले मानेनन्, कतिले अप्ठेरो माने तर सिकेपछि भने समूहको चर्चा हुनथाल्यो ।”
संस्थाकी उपाध्यक्ष प्रविना देवकोटा पेसाले विद्यालयकी प्राचार्य थिइन् । स्नातकोत्तर गरेपछि आफैँ विद्यालय सञ्चालन गर्दैगर्दा ढाड दुख्ने समस्याले थलिइन् । उनलाई चिकित्सकले नाच्ने, उफ्रने खालका कम्मरको थेरापी गर्न भने । संस्थामा आवद्ध भएपछि नौमती र पञ्चेबाजा बजाउनुपर्छ भनेर अध्यक्षलेभन्दा पहिले निकै असजिलो लाग्यो । “बाहुन त्यै माथि महिला, कसरी बजाउनु पञ्चेबाजा ?”, उनले उतिबेलाको पिर पोखिन्, “घरमा पतिले झन् मेरो बेइज्जतै गर्ने भयौ भनेपछि विरक्तिनुभयो ।”
बाजा बजाउँदा रमाइलो हुने र शरीर पनि स्वस्थ हुन थालेपछि भने उनी आफैँ बाजा बजाउन रत्तिइन् । पैसा तिरेर गर्नुपर्ने थेरापी पैसा कमाएरै पूरा भएपछि नयाँ जीवन पाएको महसुस गरिन् ।
टेम्को, दमाहा, सनही उनी पालैसँग बजाउछिन् । बाहुन क्षेत्री समुदायका महिलाले आफ्नो जातीय घेरा तोड्दै यसरी पञ्चे बाजा बजाएका हुन् । त्यस्तै दलित समुदायभित्रका महिलाले आफ्ना पतिले गर्ने कामलाई आफैँले आम्दानीको स्रोत बनाएर वर्गीय घेरा तोड्न सफल भएका हुन् । पञ्चेबाजामा सनही, दमाहा, टेम्को, भ्mयाली र नरसिंहा पर्छ ।