०८ साउन २०८३, शुक्रबार

महिला फुटबल खेलाडीले पाए जनही एक लाख, साफ च्याम्पियनसिप जिते थप पुरस्कार पाउने

फागुन २८, २०७५
महिला फुटबल खेलाडीले पाए जनही एक लाख, साफ च्याम्पियनसिप जिते थप पुरस्कार पाउने

विराटनगर– आजदेखि शुरु हुने साफ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली महिला फुटबल टोलीका खेलाडीलाई जनही एक एक लाख रूपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हिरो कपमा विजेता बनेका कारण थप ५० हजार रूपैयाँ गरी एक लाख रूपैयाँका दरले पुरस्कार वितरण गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।

खेलाडीहरूलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद हस्तान्तरण गरेका हुन् । यस्तै उनले साफ महिला च्याम्पियनसिपमा खेल्ने टोलीमा सहभागी मोरङका तीन खेलाडीहरू सरू लिम्बू (पथरी), मनमाया लिम्बू (लेटाङ) र कविता धिमाल (उर्लाबारी)लाई सद्भावना दुत नियुक्त गरेका छन् । 

मेयर पराजुलीले नेपाली महिला फुटबल टीम जुनसुकै प्रतियोगीतामा पनि सक्षम रहेको दाबी गर्दै पुरुष टोलीसँग पनि भीड्न सक्ने बताए । विराटनगर महानगरपालिकाले छोरी बचाउ अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै उनले नेपाली टोलीले च्याम्पियनसिप जितेमा महानगरले टोलीका सबै खेलाडीहरूलाई थप नगद पुरस्कार दिने घोषणासमेत गरे । 

उक्त कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला फुटबलमा नेपाली खेलाडीहरूले उल्लेखनीय प्रगति गरेको बताए । उनले यो प्रतियोगीता महिला फुटबल टोलीका लागि देशलाई अझ चिनाउनका लागि राम्रो अवसर भएको जानकारी दिए । अध्यक्ष शेर्पाले नेपाली महिला टोलीले उच्च मनोबलका साथ खेल प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्