काठमाडौं- नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एप 'हाम्रो पात्रो'ले यही साता आफ्ना प्रयोगकर्ताका लागि अनेक नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ । गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रो पात्रोमा समावेश प्रत्येक विशेषता लाखौं नेपाली प्रयोगकर्ताहरूको दैनिक स्मार्ट जीवनलाई सुपर स्मार्ट बनाउने हाम्रो पात्रोले जनाएको छ ।
हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतीले भने, 'नेपाली प्रयोगकर्ताको दैनिकिको मूलभूत आवश्यकता के हो भन्ने विचारहरूमा निरन्तर खोजी गरिरह्यौं र समयानुसार फरक सुविधा, नविन प्रविधियुक्त अपडेट गर्दै गयौं । यसक्रममा ‘हाम्रो पात्रो’ एउटा पात्रोमा मात्र सीमित नरहेर, हरेक नेपालीको दैनिकी सहज बनाउने सहयात्री भएको छ । हाम्रो पात्रो नेपाली एप्सहरूको पंक्तिमा सर्वाधिक ठूलो परिवार भएकोमा गर्व लाग्छ । हाम्रो यो स्मार्ट नेपाली परिवार लाखौं सदस्यसहितको एउटा विशाल पारिवारीक संरचना बनिसकेको छ ।'
उनले आफूहरूले १० वर्षअघि व्यक्तिगत शोखका लागि नेपाली क्यालेण्डरका तिथिमिति, चाडवाड, रितिरिवाज तथा वैदिक हिन्दु संस्कारका विविध जानकारी समेटिएको र अमेरिकास्थित केही साथीहरूका लागि उपयोगी बनाउने गरेको प्रारम्भिक प्रयासहरू निरन्तर अपडेट गरी अहिलेको स्थानमा पुगेकोमा आफूहरूलाई खुशी लागेको बताए ।
यस्तो छ हाम्रो पात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरू :
१) स्थानीय भाषाका साथमा
हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलब्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ । नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ । अबलाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सक्नुहुनेछ ।
नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुनुहुन्छ भने तपाईंले नेपाल सम्वतमैं तिथीमिति बारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरू नेपालभाषामा राखिएका छन् । आउँदा दिनहरूमा नेपालभाषा लिपीसमेतको हाम्रो पात्रो सार्वजनिक गर्ने भएको छ ।
२) दिन तथा रात थिमका साथ
प्रयोग सहजतामा प्रभावकारी लाइट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो । अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन् ।
३) हाम्रो भिडियो
विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने सुविधासहित भिडियोको नयाँ डिजाइजन राखिएको यो सुविधा तपाईंलाई मन पर्नसक्छ । यूट्यूबमा विभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो खोजि गर्नु चुनौतीको विषय हो । आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरूले कहिलेकाँही तपाईंलाई पनि अफ्ट्यारो भएको हुनसक्छ । त्यसका लागि 'Spam-free' समाचार, गीत संगीत, रियालिटी शो, चलचित्र, विज्ञान तथा अन्य विधाका रोचक भिडियोहरू समावेश हाम्रो भिडियोको विशेषता हो ।
४) नोट/टिपोट
हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट । आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरू सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट/टिपोटको सुविधा अब तपाईंको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ । यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबूक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिनेछ ।
नोटलाई सम्पादन अर्थात् एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्न मिल्ने खालको छ । अब तपाईंका कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समयअनुसार अघि बढ्न सकियोस् र ‘नेपाली टाइम’को आक्षेप कुनै कार्यक्रममा या उपस्थितिमा नलागोस् भन्ने चाहनुहुन्छ भने यो सुविधाका उपयोगी बन्न सक्छ ।
मोबाइल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रो पात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेख्नुभएको नोट/टिपोट अथवा इभेन्ट प्लानहरू केही पनि हराउनेछैन । तपाईंको विभिन्न इभेन्ट प्लान/गतिविधि व्यवस्थापन गर्नका लागि G-mail, Twitter अथवा Facebook बाट हाम्रोपात्रो लग-ईन गरिसकेपछि राख्नुभएका नोट/टिपोट तपाईंले प्रयोग गर्ने जुनसुकै Android फोनमा पहिले लग-ईन गरिएको आइडीबाट लगइन गरेर एप्लिकेशन प्रयोग गर्नुभएमा पहिलेकै अवस्था सम्पूर्ण कुराहरू यथास्थानमै देखिनेछन् ।
५) समाचार सर्च तथा ट्रेण्डिङ समाचार
यस मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेण्डिङ विषयको सुविधा । आफ्नो इच्छाअनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिङ विषयहरूमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ । सर्च गर्ने प्रभावकारी तरिकादेखि सर्च हिस्ट्री सम्पादनसम्मको सुविधाको एप्लिकेशनले दिएको छ ।
६) न्यूज पर्सनलाइजेशन
व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरू समेटिएको पर्सनलाइजेशन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचारहरू प्रयोगकर्तासामु पस्कँदै आएको र समाचार या समाचार स्रोतहरू हरेकका लागि रुचि अनुरूप र चासो अनुरूपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ । अब हाम्रो पात्रोमा तपाईंले आफूलाई मन परेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।
७) दैनिक नोटिफिकेशन हिस्ट्रि
हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरू हिष्ट्रिमा पछि समेत हेर्न मिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ । दिनहुँका नोटिफिकेशन हिस्ट्रिमा बस्ने समाचारको सूचि आज मात्रको हुने होइन पुराना समाचारका नोटिफिकेशनहरू पनि क्रमैअनुसार तपाईंको मोबाइलमा रहिरहनेछ ।
अब दिनभरी तपाईं जस्तोसुकै व्यस्ततामा रहेपनि महत्वपूर्ण खबरहरूको अपडेट छुट्यो भनेर टेन्सन लिइराख्नु पर्दैन । यो सुविधाले देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका कुनैपनि अपडेट तपाईंले आफ्नो अनुकूल समयमा पढ्न सक्नुहुनेछ ।