
नेपालगञ्ज, १ चैत — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज पुगेर आफ्ना पुराना अभिव्यक्तिको स्पष्टिकरण दिएका छन् । आफूलाई मधेश विरोधी नेताको रुपमा कुप्रचार गरिएको बताउँदै उनले आफ्ना पुराना भाषणको स्मरण गराएका हुन् ।
नेकपा एमालेले आयोजना गरेको मेची महाकाली अभियानको क्रममा नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा मन्तब्य राख्दै ओलीले आफ्ना पुराना अभिव्यक्तिहरूको मात्रै स्पष्टिकरण दिए । साथै उनले एमालेका केही नीतिगत कुराको बारेमा पनि जानकारी गराएका छन् ।
मधेशका नेताहरूले केपी ओलीले आफूहरुलाई युपी विहार जाउ भनेर मधेशमा कुप्रचार गरेको उनले बताए । ओलीले आफूले मधेशी नेताहरुलाई युपी विहारमा जान नभनेको स्पष्ट पारे । बरु ओलीले भने, ‘उनीहरूलाई मैले युपी विहार जाउ भन्नै पर्दैन, हप्ता दश दिनमा गएकै छन् ।’
राजनीतिक परिवर्तनका उपलब्धीहरू संस्थागत गर्ने समयमा मधेशको नाममा राजनीति गर्ने केही नेताले यी उपलब्धीलाई संस्थागत हुन नदिनको लागि विभिन्न हतकण्डा अपनाइरहेको उनले आरोप लगाए ।

साथै उनले आफूले केही सयम पहिले दिएको अभिव्यक्तिमा प्रयोग भएको झरेको आँप भन्ने शब्दको पनि स्पष्टिकरण दिएका छन् । मधेशी मोर्चाका नेताले मधेशमा मरेका शहीदलाई ओलीले झरेका आपसँग तुलना गरेको भन्दै कुप्रचार गरेको भएपनि आफूले कहिल्यैपनि त्यस्तो अभिव्यक्ति नदिएको बताए ।
‘एमालेका केही नेताहरूले एमाले छोडेर अरु पार्टीमा हिँडेपछि आयोजना भएको पत्रकार सम्मेलनमा मलाई सो विषयमा सोधिएको थियो,’ ओलीले भने, ‘मैले एमाले लटरम्म फलेको आँपको बोट भएकोले केही आँपहरु झरेर जाँदैमा फरक नपर्ने बताएको थिएँ ।’
पार्टी छोडेर गएका नेताहरूलाई झरेको आँप भनेर आफूले संज्ञा दिएको भएपनि मोर्चाका नेताहरूले चाहिँ सो विषयको कुप्रचार गरेको उनले बताए ।
साथै उनले मेधशी नेताहरूले मधेशलाई संबिधानले अपमान गरेको भनेर ब्याख्या गरेको भएपनि संबिधानले सबैको सम्मान गरेको बताएका छन् । ‘उनीहरु संबिधानसभामा भत्ता मात्रै पचाउँथे, संबिधानमा के लेखिएको छ ती नेतालाईनै थाहा छैन,’ उनले भने, ‘संबिधानले भेदभाव गरेको छैन । बरु पछाडी पारिएका समुदायलाई अगाडी बढाउन खोजेको छ ।’
राम्रो हुँदा हुँदैपनि मोर्चाका नेताले संबिधान नमान्ने नाटक गरिरहेको उनले बताए । एमालेका विरुद्धमा भोट हाल्न चाहिँ त्यहि संबिधान मानेर उनीहरू आएको उनले बताए । ‘असोज २४ गते एमालेका विरुद्ध भोट हाल्न बोडर छोडेर आएका थिए,’ उनले भने, ‘त्यही संबिधानमै टेकेर उनीहरु भोट हाल्न आए, तर अहिले संबिधान नमानेको नाटक गरिरहेका छन् ।’
साथै उनले सोही संबिधान अनुसार मोर्चाका नेताहरु साउन १९ गते पनि एमालेका विरुद्धमा भोट हाल्न संसदमा आएको जानकारी गराए । ओलीले आफ्ना भाषणहरुको स्पष्टिकरण दिने बेलामा पटक पटक दाजुभाई दिदीबहिनी सम्बोधन गरे ।
‘दाजुभाई दिदीबहीनीहरु एमालेलाई मधेश विरोधी, मुस्लिम विरोधी, आदीवासी—जनजाती विरोधी भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘जसले देश बनाउने संकल्प लिएको छ, त्यो कसरी विरोधी हुन्छ । बरु विरोधका नाममा जे कुरा पनि भाँड्न खोज्ने मोर्चाका नेता चाहिँ कसरी पक्षका भए ?’