
काठमाडौं -काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरूलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
यसवर्ष नेपालका ५० जिल्लाको विद्याथीहरूले MBB, BDS, BE, B.Sc., BBA, B.COM लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीहरू मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।
होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हाँसिल गर्न सल्लाह दिए ।
उनीहरूको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजवुत बनाउनेछ । सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पूरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको शुरूवात गरेको थियो ।
यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करणअन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो ।
सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत MBBS/BDS को विद्यार्थीले पाँच वर्षसम्म प्रति महिना नेरु ४०००/–, BE को विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेरु ४०००/– र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना नेरु ३०००/– प्राप्त गर्नेछन् ।
हालसम्म नेपालका ७७ जिल्लका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको छ ।
नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, विज्ञान, कम्पुटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कूल ३००० छात्रवृत्ति प्रदान गर्दछ ।
यी छात्रवृत्तिहरू नेपाल तथा नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका निमित्त नेपालमा मानव स्रोतको विकासमा सहयोग पुर्याउन भारतले गरेको प्रयासको एक हिस्सा हो ।
हेर्नुहोस्, फोटो :


