०३ साउन २०८३, आइतबार

परिवारकासँग टाढिनु पर्दा कारागारका बन्दीमा मानसिक समस्या

फागुन ३०, २०७५
परिवारकासँग टाढिनु पर्दा कारागारका बन्दीमा मानसिक समस्या

ललितपुर-  देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । 

अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताउनुभयो । अस्पतालको बहिरङ्ग विभाग र अन्तरङ्ग विभाग दुवैतिर कारागारबाट आएका बिरामी आइरहेका छन् । विभिन्न मुद्दामा जेल चलान भएपछि मानसिक रोग लागेका कैदीबन्दी उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो । 

देशभरका विभिन्न कारागारका कैदीबन्दीलाई मानसिक रोग लागेपछि कारागार प्रशासनले नख्खु कारागार नै सरुवा गरेर पठाउने गरेको छ । बहिरङ्ग विभागमा दैनिक १० देखि १५ जाँचका लागि आउने र अन्तरङ्ग विभागमा तीन÷चार सम्म कैदीबन्दी भर्ना हुने गरेका छन् । उहाँले भन्नुभयो, “अहिले नख्खु कारागारभित्रै मानसिक अस्पताल बन्न लागेकाले यो कारागारमा सरुवा भएर आउनेक्रम बढेको छ ।” 

अधिकारीका अनुसार कैदीबन्दीमा सबैभन्दा बढी ‘डिप्रेसन’ का बिरामी आउने गरेका छन् । कैदीबन्दीमध्ये कतिमा सामान्य र कतिपयमा कडा खालको मानसिक रोग पाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार परिवारका सदस्यसँगको दूरीका कारणले मानसिक समस्या हुने गरेको छ । उहाँले भन्नुभयो, “कारागारमा परेपछि परिवारले बेवास्ता गर्ने, भेट्न नआउने हुँदा मानसिक रोग लागेको पाइन्छ ।” 

समाजमा मानसिक रोगलाई पनि रोगका रूपमा स्वीकार गरेर उपचार गर्नुपर्छ भन्ने धारणा बन्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको छ । बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका ५० श्ययामा सधैँ बिरामी खचाखच हुने गरेको अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्