
बुटवल– रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराह नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुटवल–भैरहवा सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।
टोलीले बिहीबार बिहान करिब साढे नौ बजे डिस्पोज गरेको हो । सेनाले डिस्पोज गरेको वस्तु सामान्य बम रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीबहादुर मल्लले जानकारी दिए । उनका अनुसार बन्दको प्रभाव देखाउन र नागरिकमा त्रास फैलाउन सामान्य सुतली बम राखिएको जानकारी दिए ।
यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव बुटवलमा आंशिक प्रभाव परेको छ । विगतको तुलनामा आज सवारीसाधन कम चलेका छन् । शहरी क्षेत्रमा यातायातका साधन चलेपनि लामो दूरीका सवारी साधन चलेका छैनन् ।