जनकपुरधाम–सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आगामी रणनीति बनाउन यसअघि तय गरेको मिति परिवर्तन गर्दै आइतबारका लागि बैठक आह्वान गरेको छ ।
भोलि देखि ४ गतेसम्मका लागि सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महतोले जानकारी दिए ।
‘तराई मधेशको अत्यन्तै महत्त्वपूर्ण पर्व होली नजिकिएको कारण एक दिन अगावै बैठक बोलाइएको हो,’ महतोले लोकान्तरसँग भने, ‘लहानमा १० बजेदेखि ३ र ४ गतेसम्म बैठक बस्नेछ ।’
बैठकबाट प्रत्येक जिल्लाबाट चार जना सदस्य सहभागी हुने उक्त बैठकमा सहभागी हुन नेपाली नागरिकताको प्रमाणपत्र समेत अनिवार्य ल्याउन भनिएको छ ।
पहिचान खुल्नका लागि नागरिकता पनि बोकेर ल्याउन भनिएको छ । यद्यपि नागरिकता अन्य प्रयोजनका लागि मगाइएको बताइएपनि उनले विस्तृतमा खुलाउन चाहेनन् ।