
विराटनगर– मोरङको बुढीगंगाको एक निजी स्कुलले धुर्मुस–सुन्तली फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले आफ्नो स्थापना दिवस तथा अभिभावक भेलामा सो रकम हस्तान्तरण गरेको हो ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई विद्यालयकी प्रिन्सीपल रिता न्यौपानेले आफ्नो बुबाको स्मृतीमा १ लाख ५० हजार अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने अभियानलाई सहयोग पुग्ने गरी सो रकम हस्तान्तरण गरेकी हुन् । देशकै लागी महान काम गर्दै आएको फाउण्डेशनका लागि सानो भएपनि सहयोग गरेको बताइन् । कार्यक्रममा बोल्दै सिताराम कट्टेल धुर्मुसले आम नागरिकको तर्फबाट प्राप्त भएको स–साना सहयोगबाट महान काम हुने र उपलब्ध गराइएको रकमलाई महत्वपूर्ण उपलब्धिको रुपमा काम गरेर देखाउने बचनवद्धता ब्यक्त गरे ।
सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितले सरकारले निजी विद्यालयलाई वयवस्थित गर्न लागेको बताए । उनले बजारमा आएर चर्चा भएको जस्तो निजी विद्यालय बन्द गर्ने उदेश्य सरकारको नरहेको बताए । उनले नाफामुखी विद्यालयहरूले सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेकोले सामाजिक उत्तर दायित्व पूरा गर्ने विद्यालयहरु प्रति आफ्नो सम्मान रहेको बताए ।
आफ्नो निर्वाचन क्षेत्र भएकोले पनि उनले विद्यालयको प्रशंसा गर्दै यस क्षेत्रम विद्यालयले राम्रो काम गरेको बताए । नाफा मात्र नहेरी सामाजिक क्षेत्रमा लगानी पनि गर्नु पर्ने उनको भनाई छ । विद्यालयले सोही अवसरमा उत्कृष्ट शिक्षक देशराज केसीलाई नगद ५ हजार, ५ बर्षभन्दा बढी निरन्तर काम गर्ने शिक्षकहरु मध्येबाट २ जना पबित्रा खड्का र बिनोद न्यौपानेलाई नगद १० हजार सहित पुरस्कृत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले विद्यालयले दिने शिक्षा नाफामुखी भन्दा पनि सबैलाई शिक्षाको महुँचमा ल्याउनेमा केन्द्रीत हुनु पर्ने बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले विद्यालयले गाउँपालिकाममा कक्षा ११ को स्वीकृतीका लागि पेश गरेको निवेदनलाई हेरेर कक्षा ११ का लागि स्वीकृती पैदा गर्ने बताए ।
विद्यालयले बिगत १३ बर्षदेखि ग्रामिण समूदायलाई लक्षित गरी शिक्षा प्रदान गर्दै आएको छ । १३ बर्षसम्म अभिभावकलाई दिएको बाचा बिद्यालयको तर्फबाट पूरा गरेको विद्यालयकी प्रिन्सीपल न्यौपानेले बताइन । आगामी दिनमा विद्यालयको तर्फबाट अभिभावकको सहयोग प्राप्त भए स्मृती स्कुलबाट नै स्नातकोतर सम्मको शिक्षा प्रदान गराउन आफू तयार रहेको प्रतिबद्धता जनाइन् ।