०२ असार २०८३, मंगलबार

युवा रोजगारीका लागि गएपछि मलामीको अभाव

कात्तिक २०, २०७४
युवा रोजगारीका लागि गएपछि मलामीको अभाव

जाजरकोट (रग्दा), २ पुस- वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । 


युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । 

मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । 

गाउँमा विद्यालय उमेरका बालबालिका र वृद्ध मात्र भेटिने गरेको उहाँको भनाइ छ । विकास निर्माणका काममा समेत युवा पुरुष नहुँदा महिला तथा विद्यालय उमेरका बालबालिका जुट्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ । 

गाउँमा भएका केही मानिस सहर, बजार अनि सडकको नजिक सरिसकेका छन् । अहिले गाउँमा मान्छे विहीन बन्दै जाने खतरा बढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले बताउनुभयो । 

विवाह गर्दासमेत जन्ती जाने मानिस नहुँदा, मानिस मर्दा मलामी जाने पुरुष नहुँदा अहिले सबै काम महिलाले गर्दै आएको खत्रीको भनाइ छ । हाम्रो गाउँमा जन्ती, मलामी महिलालाई नपठाउने चलन थियो, अहिले पुरुष नै नभएपछि महिलाले त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन्, खत्रीले भन्नुभयो । 

घरको काम बालबालिका र वृद्धले गर्दा विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीको सङ्ख्या पनि ठूलो रहेको रग्दाका कमल ध्यारले बताउनुभयो । 

स्थानीय सबै कार्यमा बालबालिका नै सहभागिता जनाउँछन् अनि यसले गर्दा पढाइमा समस्या आउने गरेको ध्यारको भनाइ छ । घरव्यवहारदेखि गाउँमापर्ने सबै काम विद्यालय उमेरका बालबालिका र वृद्धको जिम्मामा रहेको पाइएको छ । अहिले जिल्ला प्रशासन र गाविसमा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्या ठूलो रहेको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्