
धनगढी– नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को केन्द्रीय अध्यक्ष जगत बरामले आफूहरुको बटमलाइन १० प्लस १ नै यथावत रहेको बताएका छन् ।
वर्तमान संघीय संरचनाप्रति तीव्र असन्तुष्टी पोख्दै आएका अध्यक्ष बरामले पहिचानसहितको ११ प्रदेशको संघीय संरचनाको माग मुद्धा कायमै रहेको बताएका हुन् ।
शनिबार धनगढीमा सम्पन्न नेफिन थरुहट खसान सुदूरपश्चिमको प्रथम अधिवेसनको उद्घाटन सत्रमा बोल्दै उनले भने–‘हिजोका दिनमा पनि हामीले थरुहट, मगरात, खसान, नेवालगायतको लड्यौं । लडिरहने छौ । बटमलाइन नै १० प्लस १ हो ।’
उनले हालका सत्ताधारी नेताहरु जनजातिहरुलाई धोखा दिएको समेत आरोप लगाएका छन् । ‘हिजोका दिनमा पहिचानका आन्दोलन गर्न सिकाउने उनै प्रचण्ड हुन् । पृथ्वी सुब्बा गुरुङ हुन् । शेरधन राई हुन् । वर्षामान पुन हुन् । देव गुरुङ हुन् । नन्दकिशोर पुन (पासाङ) नै हुन् । तर आज सत्ता स्वार्थको राजनीतिमा तिनीहरु जनजातिलाई धोखा दिएका छन्’, उनले थपे ।
त्यस्तै, उनले टीकापुर घटनामा आदिवासी थारु जातिको सर्वश्वहरण भएको बताए । अधिकारको राजनीतिक आन्दोलनमा थारु भएकै कारण सांसद रेशम चौधरीलाई जन्मकैद गरिएको तर मुलुकलाई भाग गर्छु भन्ने सिके राउतलाई राज्यले सम्मान गरेको अध्यक्ष बरामको टिप्पणी थियो । आधिकारको लागि जनजातिहरु सशक्त आन्दोलन गर्नुको विकल्प नभएको समेत उनको भनाई थियो ।
कार्यक्रममा नेफिनका केन्द्रीय सचिव दानसिंह राउटे, राजी सल्मा समाजका केन्द्रीय अध्यक्ष चित्र राजी, नेपाल मगर संघका केन्द्रीय सदस्य टेकनाम जालीमगर, तमु हयुल छोजधिका रामबहादुर गुरुङ, अधिवक्ताद्वय नाथुराम महतो, नेत्र तामाङ, नेफिन कञ्चनपुर अध्यक्ष प्रेमवति राना, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कैलाली अध्यक्ष लखन चौधरी, आदिवासी यूवा महासंघका राजकुमार रानालगायतले बोलेका थिए ।
नेफिन तदर्थ समितिका अध्यक्ष दिलिप तामाङको अध्यक्षतामा भएको अधिवेसनमा सांगठनिक प्रतिवेदन सचिव दलबहादुर घर्तिमगरले प्रस्तुत गरेका थिए भने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामकुमारी चौधरीले प्रस्तुत गरेकी थिइन् ।