काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को यस संस्करणको खेल शनिवारबाट शुरू भइसकेको छ ।
शनिवार राति भएको पहिलो खेलमा चेन्नई सुपर किङले रोयल च्यालेन्जर्स ब्याङ्लोरलाई सहज ढंगले पराजित गर्यो ।
त्यस्तै आज खेलहरू हुँदैछन् । पहिलो खेल चारबजे सन राइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच हुनेछ । दोस्रो खेल भने राति ८ बजे दिल्ली क्यापिटल्स र मुम्बई इंडियन्सबीच हुनेछ ।
हुन त आईपीएलका हरेक खेलहरू रोचक हुन्छन् तरपनि नेपाली क्रिकेटप्रेमीहरूले आज हुने दोस्रो खेललाई विशेष महत्त्वका साथ हेर्नेछन् । कारण हो- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने ।
आईपीएलमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेले सन् २०१८ मा दिल्लीले अन्तिम तीन खेलमा मात्रै खेलाएको थियो । तर अन्तिम तीनै खेलमा सन्दीपले आफूलाई प्रमाणित गरेसँगै उनी विश्वका चर्चित टी-ट्वान्टी लिगहरूमा आबद्ध भए । उत्कृष्ट प्रदर्शन गरे ।
उनले पोहोर साल खेलेको दिल्ली डेयरडेविल्सको नाम यसपटक परिवर्तन भएर 'दिल्ली क्यापिटल्स' भएको छ । दिल्लीले यसपटक सन्दीपलाई विशेष चासोका साथ लिएको छ । दिल्ली क्यापिटल्स नामक आफ्नो पेजमा सन्दीपले अभ्यास गरिरहेको तथा सिंगल फोटोहरू 'ब्याक टू ब्याक' अपलोड गरिरहेको छ ।
प्लेइङ-११ मा पर्लान सन्दीप ?
दिल्लीमा टी-ट्वान्टी लिगमा सन्दीपभन्दा अनुभवी धेरै खेलाडी छन् । क्लबले विदेशी खेलाडीको कोटामा सन्दीपलाई राख्दा भारतबाहेकका अन्य देशका जम्मा तीन जना खेलाडी मात्रै राख्न पाउँछ । सन्दीपको गतवर्षको प्रदर्शन, त्यसपछि विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनलाई हेर्ने हो भने दिल्लीले प्लेइङ-११ मा राख्ने सम्भावना बलियो छ । सामाजिक सञ्जालको पोष्टलाई मान्ने हो भने दिल्लीले सन्दीपलाई महत्त्व नै दिएको छ ।
उता क्रिकबजको सम्भावित प्लेइङ-११ मा पनि सन्दीपको नाम अटाएको छ । क्रिकबजको प्लेइङ-११ मा शिखर धवन, पृथ्वी शो, श्रेयस लयर, कोलिन इंग्राम, रिसभ पन्त, शेर्फाने रुथर्फोर्ड, अक्सर पटेल, राहुल तेवाटिया/अमित मिश्रा, सन्दीप लामिछाने, इशान्त शर्मा/अवेश खान र ट्रेन्ट बोल्ट छन् ।
क्रिकबजको प्लेइङ-११ लाई हेर्ने हो भने आजको खेलमा सन्दीपले मौका पाउन सक्छन् ।