
स्याङ्जा - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाललाई विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताएकी छिन् । मंगलवार आँधीखोला गाउँपालिका वडा नम्बर २ र ४ को संगमस्थल स्याङ्जामा निर्मित अन्धाअन्धी मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएको भन्दै मन्त्री अर्यालले अब उत्पादनमा ध्यान दिएर आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताइन् । नेपालमा भएका सम्भावनालाई योजनाबद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्ने बताइन् । अब नेपाल श्रमशक्ति निर्यात गर्ने देश नभएर विदेशी श्रमशक्ति आकर्षित गर्ने देश बन्नुपर्ने मन्त्री अर्यालको भनाइ छ ।
‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ,' मन्त्री अर्यालले भनिन्, 'तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन, विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ । नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडि बढेका छौं ।'
नेपाललाई स्वीजरल्याण्ड बनाउछौं भनेर भाषण गरेर मात्र नहुने भन्दै उनले योजनाबद्ध रूपमा विकासका कामहरू अगाडी बढाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग धेरै सम्भावनाहरू छन् । अब योजना बनाएर अगाडि बढ्नुपर्छ ।’
विगतमा पनि कम्युनिष्ट सरकारले विकासको शुरूवात गरेको र अहिले पनि समृद्धिको काम यही सरकारले गर्ने मन्त्री अर्यालले विश्वास दिलाइन् । उनले भनिन्, ‘विगतलाई हेर्नुस् र आजलाई हेर्नुस् । हिजो विकासको शुरूवात पनि हामीले गर्यौं । समृद्धिको शुरूआत पनि हामीले शुरू गर्यौं । सबै जनताको सपना साकार पारेरै छाड्छौ, ढुक्क हुनुस् ।'