२१ असार २०८३, आइतबार

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरू

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरू

बेइजिङ– संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीवार शुरू हुँदैछ । 

विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरू अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरूप केही महिनादेखि दुवै देशका वरिष्ठ अधिकारीहरूको वार्ता घनिभूत रूपमा अगाडि बढेको छ । 

अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ आइसकेका छन् । अमेरिकी प्रधिनिधिमण्डलले चिनियाँ उपप्रधानमन्त्री एवं वरिष्ठ आर्थिक अधिकारी लिऊ हेसँग वार्ता गर्नेछ । चीनको जनकंग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानून पारित गरेपछि यो पहिलो वार्ता हुन लागेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुङ्गिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखर वार्ता गर्न आफू प्रतिक्षारत रहेको बताएका छन् । तर वार्तामा केही मुलभूत विषयमा सहमति जुट्न बाँकी रहेको दुवै देशका प्रतिनिधिहरूले बताए पनि विस्तृत विवरण दिइएको छैन । 

बेइजिङमा हुने वार्तापछि वासिङ्टनमा पुनः वार्ता हुनेछ । 

तर लाइटीजरले यसैसाता भनेका छन्, 'मैले आशा मारिसकेको छैन, वार्तामा ठोस सहमति नभए हामी दोस्रो योजनाका साथ अघि बढ्ने छौं ।' 

अमेरिका र चीनले एकअर्का मुलुकका करीब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पुर्‍याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् ।  

अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरूका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरूलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । 

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाइ छ । 

Photo : BBC

salt training

कमेन्ट गर्नुहोस्