०२ असार २०८३, मंगलबार

फिरोज हत्याकाण्ड : सुरक्षाको माग गर्दै अटो व्यवसायीको प्रदर्शन

चैत १४, २०७५
फिरोज हत्याकाण्ड : सुरक्षाको माग गर्दै अटो व्यवसायीको प्रदर्शन

बुटवल-  बुटवलमा बुधवार अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका भारतीय नागरिक फिरोज खानको हत्यारालाई छिटो पत्ता लगाउन माग गर्दै बुटवलका अटो व्यवसायीहरूले बिहीवार बुटवलमा प्रदर्शन गरेका छन् । उनीहरू बुटवल–१ मैनाबगरमा सञ्चालित सम्पूर्ण अटो व्यवसाय बन्द गरी शान्ति सुरक्षा कायम गर्न माग गर्दै बजारमा प्रदर्शनसमेत गरे ।फिरोजको हत्यापछि मैनाबगरमा व्यासायीहरू त्रसित भएका छन् ।  

व्यवसायीहरुले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् । व्यस्त अटो बजारमा समसाँझ गोली प्रहार हुँदा व्यवसायी एवं मजदुरले असुरक्षित महशुस गरेको भन्दै बुटवल अटो ईन्जिनियरिङग एशोसिएशनले ज्ञापन पत्र बुझाएको बुटवल अटो इन्जिनियरिङ एशोसिएशनका अध्यक्ष सन्तोष पाण्डेले बताए । उनले भने, ‘हाम्रो क्षेत्र असुरक्षित भयो । दोषीलाई तत्काल पक्राउ गरी कानूनी कठघरामा ल्याउनुपर्छ ।’ ४५ वर्षीय खान १७ वर्षदेखि मैनाबगरमा अटो व्यासायमा काम गर्दै आएका थिए । 
अटो भिलेजमा रहेको ज्योति एण्ड वर्कसपमा कार्यरत खान काम सकेपछि कोठामा पुग्दै गर्दा उनलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । हत्याको २४ घण्टा पुग्न लाग्दा समेत प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन । उनी श्रीमती र दुई छोरासँग बुटवलमा बस्दै आएका थिए । 

उनीहरूले मैनाबगर क्षेत्रमा शान्ति सुरक्षाको समेत माग गरेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिल बहादुर मल्लले घटनाको सुष्म ढंगले अनुसन्धान भइरहेको भन्दै हत्यारा छिटो पक्राउ पर्ने बताए । र्‍यालीमा सहभागी व्यवसायीहरूले शान्ति सुरक्षा कायम राख्न सुरक्षा र क्याम्प राख्नसमेत माग गरेका थिए ।

प्रहरीले दोषीलाई अझै छिट्टै पक्राउ गर्ने दाबी भने गर्न छाडेको छैन । रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटनामा संलग्न भएको आशंकामा तीन-चार व्यक्तिहरूलाई शंकाको घेरामा राखेको बताए । उनले भने, ‘हामी ‘वाच’ गरिराखेका छौं । छिट्टै पक्राउ गछौं ।’ 

खान श्रीमती र दुई छोरासहित बुटवलमा बस्दै आएका थिए । डिलबहादुर मल्लले विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै हत्यारा फुत्केर बाहिर नजाने बताए । रूपन्देहीमा आपराधिक घटना बढ्दै गएका छन् । १५ दिन अगाडि देवदहका युवा अनिस पुरीको पनि हत्या भएको थियो । पुरीको हत्यामा संलग्न चार जना देवदहका युवाहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्