विराटनगर–अवैध हातहतियार प्रहरीलाई बुझाउने क्रम शुरु भएको छ ।
अवैध रुपमा घरमा राखिएका बिस्फोटक पद्धार्थ तथा हतियारहरु प्रहरीलाई बुझाउ क्रम शुरु भएको हो । सोही क्रममा विराटनगरका २ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । अवैध रुपमा घरमा राखेको तीनवटा बन्दुक जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका हुन् ।
यसरी हतियार बुझाउनेमा विराटनगर–४ का सुरेश प्रधान र विराटनगर–११ का भीमराज पोखरेल रहेको प्रहरीले जनाएको छ ।
प्रधानले आफ्नै घरमा राखेको सर्टगन स्वचालित २५ बोरको एक नाल र १२ बोरको एक नाल गरेर दुईवटा र पोखरेलले घरमा रहेको एउटा भरुवा बन्दुक बुझाएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । इजाजत बिनाका र नवीकरण नभएका अवैध हतियार बुझाउन सरकारले ३५ दिनको सूचना जारी गरेसँगै अवैध हतियार बुझाउने क्रम सुरु भएको केसीले बताए ।
अवैध रुपमा हतियार राख्ने र दिएको समय सीमाभित्र हतियार नबुझाए कार्वाही गरिने एसपी केसीले बताए ।
पछिल्लो समय विप्लव समूहको गतिविधि बढ्दै जान थालेपछि सरकारले अवैध हतियार नियन्त्रणलाई कडाई गरेको छ । आफैँ हतियार बुझाउन जाने व्यक्तिलाई कार्वाही नगरिने जनाएपनि यदी प्रहरीले पछि पक्राउ गरेको खण्डमा कडा कार्वाही हुने समेत चेतावनी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृहमन्त्रालयको आदेशमा ३५ दिने सुचना जारी गरिएकोले हतियार बुझाउन आउने क्रम शुरु भएको बताए । उनले समय सीमा नाघेर भेटिएका हतियारको सन्दर्भमा कडा कानुनी कार्वाही हुने बताए ।
भरुवा बन्दुक भेटियो
यसबैीच प्रहरीले मोरङको मिक्लाजुङ–१कोलबोटे र रमितेको बीचमा रहेको लावा खोला किनारबाट एउटा भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गस्तीमा गएको टोलीले खोला किनारमा बन्दुक फेला पारेको हो । खोला किनारमा भेटिएको बन्दुकका विषयमा अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक केसीले बताए ।