
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।
आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलवार जारी रिपोर्टमा बताएअनुसार, चार दिनअघि हैजाको जम्मा १३९ घटना थिए ।
मन्त्रालयको रिपोर्टअनुसार, विगत एक हप्तादेखि सयौं मानिस हैजाबाट पीडित भएको र एकजनाको मृत्यु भएको छ । अधिकारी तथा सहायताकर्मीहरूले महामारी फैलिनबाट रोक्नका लागि बुधवारदेखि खोप अभियान शुरू गर्न लागेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, हैजाप्रभावित बेइरा शहरमा मंगलवार हैजाका नौलाख डोज ओरल भ्याक्सिन पुग्ने सम्भावना छ ।
हैजाका कुल १ हजार ५२ घटनामा सर्वाधिक ९५९ घटना यही शहरमा देखिएका छन् ।
एजेन्सी