२७ असार २०८३, शनिबार

कर्णाली प्रदेशसभा : ‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’

चैत १९, २०७५
कर्णाली प्रदेशसभा : ‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’
फाइल फोटो

सुर्खेत-

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।

कर्णाली प्रदेश सभाको हिँउदे अधिवेशनको आठौं बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले यो गीत स्मरण गर्दै बाराका हावाहुरी पीडितलाई सहयोग गर्न प्रदेश सभा तयार हुनुपर्ने प्रस्ताव पेश गरेका छन् ।

‘बाराका पीडित जनताको पक्षमा हामी पहाडबाट सहयोग गर्नुपर्छ । त्यो पीडामा मल्हम लगाउन प्रत्येक संसदले चार दिन बराबरको तलब हस्तान्तरण गरौं,’ सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै नेता शाहीले भने, ‘यो गीतको भावना अनुरूप हामी सबै पीडित परिवारको पीडामा मल्हम लगाऔं ।’

उनले सहानुभूति दिएर मात्रै बारावासी पीडित परिवारलाई राहत नहुने बताए । उनले कर्णाली प्रदेश सरकारले दुई नम्बर प्रदेश सरकारको यो पीडामा साथ दिनुपर्ने बताउँदै सभामुख मार्फत सरकारलाई राहत दिने गरी निर्णय गर्न माग गरे । ‘६६८ जना घाइते छन् । अंगभंग भएका छन् । जनता छानोविहीन भएका छन् । बिजुली छैन । अभावै अभावमा पीडितहरू बस्न बाध्य छन् । एक पोका चाउचाउको भरमा रात काटिरहेका छन्,’ उनले भने, ‘यस्तो दर्दनाक अवस्थामा हामीले हेरेर बस्न मिल्दैन । जति सकिन्छ सहयोग गरौं । उनीहरूलाई छानामुनि ल्याउन थोरै भएपनि राहत उपलब्ध गराऔं ।’

नेता शाहीले सुदुर पश्चिम सरकारले संसद सचिवालयमा काम गर्ने मर्यादापालक तथा कर्मचारीको तलब शतप्रतिशत बढाएको स्मरण गर्दै प्रदेश सभामा काम गर्ने कर्मचारीलाई तत्काल भत्ता उपलब्ध गराउन माग गरे । ‘कर्णाली प्रदेशका कर्मचारीलाई ४० प्रतिशत र मर्यादापालकलाई तलबको २५ प्रतिशत भत्ता दिने निर्णय जमानामा भइसकेको छ,’ सरकारको आलोचना गर्दै उनले भने, ‘निर्णय गर्ने, कानून बनाउने अनि कार्यान्वयन नगर्ने पनि कहिँ हुन्छ ?’ तत्काल कर्मचारीहरूलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे ।

संसद बैठकको विशेष समयमा बोल्दै सांसद रातो कामीले गएको साउन २८ गतेदेखि भदौं ४ गतेसम्म आएको अविरल वर्षाले आठबीसकोट नगरपालिका रुकुमको वडा नं. ११ का पहिरो पीडितलाई तत्काल थप राहत उपलब्ध गराउन माग गरे । ‘विगतमा सरकारले २० हजार प्रतिपरिवारको दरले राहत रकम दिएको थियो,’ उनले भने, ‘अहिले ३१ घर ध्वस्त छन् । ५२ घर अति जोखिममा छन् । गाउँभरि त्रासमय वातावरण बनेको छ । सरकारले तटबन्ध बनाइदेओस् या अन्य सुरक्षा सर्तकता अपनाउनको लागि केही काम गरोस् ।’

प्रदेशसभा सदस्य कृष्णा शाहले जाजरकोट जिल्ला अस्पतालमा पालमुनि सुत्केरी गराउनु परेको बाध्यता अन्त्य गर्न सरकारसँग माग गरिन् । ‘जिल्ला अस्पतालमा पालमुनि सुत्केरी गराउनुपर्ने बाध्यता छ,’ उनले भनिन, ‘जाजरकोटी जनताले कहिले गुणस्तरीय र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउलान् ?’ जाजरकोट जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय भएपनि पर्याप्त बजेट नहँदा ओझेलमा परेको उनको भनाइ थियो ।

मिनासिंह रखालले दैलेखको भैरवी गाउँपालिकामा परेको चट्याङले वडा सदस्य र उनकी श्रीमती घाइते भएको बताइन् । ‘भैरवी गाउँपालिका वडा नं. ४ का वडा सदस्य नरबहादुर शाही र उनकी श्रीमती पवित्रा शाही गम्भीर घाइते भएका छन्,’ उनले भनिन, ‘सरकारले उपचारमा सहयोग गरोस् ।’ उनका अनुसार सोही गाउँपालिकामा एक जर्सी गाई र एक भैसी मरेको छ । 

प्रदेश सभाको आठौं बैठकमा प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ । प्रदेश सभा सदस्यहरूले उक्त विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्