
काठमाडौं – अल्जेरियाका राष्ट्रपति अब्दुलअजीज बूतेफ्लीकाले पदबाट राजीनामा दिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उनका विरुद्ध कैयौं हप्तादेखि देशमा प्रदर्शन भइरहेको थियो ।
बीस वर्षदेखि सत्तामा रहेका बूतेफ्लिकाले आगामी चुनाव नलड्ने र २८ अप्रिलमा कार्यकाल समाप्त भएपछि पद छोड्ने बताउँदै आएका थिए ।
तर प्रदर्शन गरिरहेका मानिसले पद छोड्ने वाचाले मात्र नपुग्ने र राष्ट्रपतिले तत्कालै पद छोड्नुपर्ने बताइरहेका थिए ।
अल्जेरियाको शक्तिशाली सेनाले ८२ वर्षीय बूतेफ्लिकालाई देश चलाउन अयोग्य घोषित गरेर पदबाट राजीनामा दिन भनेको थियो ।
प्रदर्शनकारीहरूले देशको राजनीतिक संरचनामा मूलभूत परिवर्तनको माग राखेका छन् ।
अल्जेरियाको सत्तामा सेनाको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसमा समेत परिवर्तन गर्नुपर्ने माग उठेको छ ।
सत्ताधारी पार्टी नेसनल लिबरेसन फ्रन्टले सुधारका मुद्दामा राष्ट्रिय सम्मेलन बोलाउने निर्णय लिएको छ ।
यसअघि बूतेफ्लिकाले आफ्नो उम्मेदवारी रद्द गर्दै यसै महिना हुने चुनाव टारेका थिए ।
नयाँ चुनाव कहिले हुने भनी निर्णय गर्न बाँकी छ ।
बूतेफ्लिकालाई ६ वर्षअघि हृदयघात भएको थियो र त्यसपछि उनी सार्वजनिक रूपमा एकदमै कम देखिन थालेका थिए ।
बूतेफ्लिका फ्रान्सेली शासनकालको अन्तिम दिनमा एक सैन्य अधिकारी थिए । उनी एक दशकभन्दा बढी समयसम्म परराष्ट्रमन्त्री बने र उनले कूमा पनि भाग लिए ।
उनी सन् १९९९ मा सत्ताको शीर्ष स्थानमा पुगेका थिए । उनले देशको अर्थव्यवस्था सुधार्नका लागि पश्चिमी देशसँग सम्बन्ध विस्तार गरेर अर्थतन्त्र खुला बनाए ।
बीबीसीबाट