१९ असार २०८३, शुक्रबार

सहकारीलाई एकआपसमा 'मर्ज' गर्ने तयारीमा मन्त्री अर्याल

सहकारीलाई एकआपसमा  'मर्ज' गर्ने तयारीमा मन्त्री अर्याल

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आबद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छिन । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीकर्मीलाई सीपमूलक तालिम दिन आग्रह गरेकी हुन् ।

व्यवसायीक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत जनताको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरिन् । 'सहकारीमार्फत हामीले जनताको जीवनस्तर सुधार्ने हो तपाईहरु त्यसतर्फ लाग्नुस', मन्त्री अर्यालले भनिन्, 'सहकारीमा आबद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायीक बनाउनुस । उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस् ।'

सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताइन् । मन्त्रालय अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको भन्दै उनले अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको जानकारी दिइन् ।

मन्त्री अर्यालले अहिले भएका सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिने समेत बताइन् । उनले भनिन्, 'सहकारीको संख्या अहिले अत्यधिक छ । यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौं । अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ ।'

मन्त्री अर्यालले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने बताइन् । सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने उनले बताएकी हुन् । मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने जानकारी दिइन् ।

सहकारीलाई प्रयोग गरेर गरिबी न्यूनीकरणका निम्ती प्रमुख कार्य गरिने भन्दै उनले सातै प्रदेशका सबैभन्दा बढी गरीब भएका पालिकाहरूमा गरीब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताइन् । एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आभार भनेको सहकारी नै भएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्