काठमाडौँ, ३ चैत - सशस्त्र द्वन्द्वका क्रममा ज्यान लिँदै हिँडेका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने राजनीतिज्ञ तथा मानवअधिकारवादीले बताएका छन् ।
नन्दलाल कोइराला स्मृति शान्ति प्रतिष्ठानले कोइरालको १९ औँ पुण्य तिथिका अवसरमा यहाँ आज आयोजना गरेको ‘वर्तमान अवस्थामा सत्यनिरुपण तथा मेलमिलाप आयोगको भूमिका र दायित्व’ विषयक कार्यक्रममा उनीहरुले द्वन्द्वका क्रममा मारिएका जो कोही नागरिकको सत्यतथ्य खोजी गरी पीडितलाई न्याय दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मानवअधिकार उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्छ र स्व कोइरालाको योगदानलाई राज्यले बिर्सनु हुदैन ।”
काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक चीनकाजी श्रेष्ठले विद्यालयमा पढाएको अवस्थामा हत्या गर्ने जघन्य अपराध भएको भन्दै घटनाका दोषीलाई क्षमा दिन नमिल्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य कमला पन्तले मानिस मार्नु गैरकानुनी काम भएको भन्दै दोषीलाई कडा सजाय दिनुपर्ने बताउनुभयो ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य माधवी भट्ट, वरिष्ठ पत्रकार हरिहर विरही, मानवअधिकारकर्मी सुबोध प्याकुरल, चरण प्रसाईं लगायतले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थ निम्न माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका नन्दलाललाई विसं २०५४ चैत ३ गते तत्कालीन माओवादीले पढाइरहेको ठाउँबाट बाहिर लगेर घोचा, लाठी र खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
उहाँको सम्झनामा प्रतिष्ठान खोलेर सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको प्रतिष्ठानकी अध्यक्ष जनककुमारी (लक्ष्मी) कोइरालाले जानकारी दिनुभयो । रासस