
काठमाडौं। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेका नेपाली कांग्रेस आफ्नै आन्तरिक झगडाका कारण झनै किचलोमा फस्दै गएको छ । पटकपटक सत्ता र प्रतिपक्षमा रहँदाको अनुभव संगालेको कांग्रेसले आन्तरिक किचलोकै कारण सशक्त प्रतिपक्षको भूमिकामा आफूलाई उभ्याउन सकेको छैन ।
पछिल्लो समय कांग्रेसमा महासमिति बैठकको म्यान्डेडविपरीत केन्द्रीय समिति बैठकले विधानको विषयमा बहुमतले निर्णय लिएपछि कांग्रेसभित्रको किचलो झनै झाँगिएको हो । सो विषय अहिले आएर पार्टीको कार्यसम्पादन समिति गठनको विषयसम्म आइपुग्दा झनै झाँगिन पुगेको छ । यस्तै, नेपाल विद्यार्थी संघको नेतृत्वले राजीनामा दिएपछि कांग्रेसले गुट किचलोकै कारण एक महिना बित्दासमेत नेविसंघलाई नेतृत्वविहीन बनाएको छ ।
नेता अर्जुननरसिंह केसीले पार्टीमा बढ्दो किचलोलाई निश्चित दिशा दिन जरुरी रहेको बताए । उनले निष्पक्ष, पारदर्शी, तथा विधानसंगत रूपमा पार्टीलाई बढ्दो किचलोबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
यस्तै, महासमिति बैठकको एजेन्डालाई लिएर जिल्ला सभापतिसमेत गुटगत आधारमा नै विभाजित हुन थालेका छन् । सोही आधारमा केही दिनअघि राजधानीमा संस्थापनइतरका जिल्ला सभापतिले महासमिति बैठकको म्यान्डेड र आफूहरूसँगको सहमतिविपरीत विधानमाथि बहुमतले निर्णय गरेको भन्दै विशेष महाधिवेशनसम्मको धम्की पार्टी नेतृत्वलाई दिइसकेका छन् । राजधानी दैनिकले यसबारे खबर छापेको छ ।