
हेटौँडा–प्र्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज बसेको बैठकले प्रदेश विकास आयोजना सञ्चालन गर्ने कार्यविधि २०७५ स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो कार्यविधिअनुसार प्रदेशसभाका प्रत्येक सदस्यले आआफ्नो निर्वाचन क्षेत्रमा जनताद्वारा माग गरिएको योजनामा रु एक करोडसम्म खर्च गर्न पाउने गरी अधिकार प्रत्योजन गरिएको जानकारी दिए ।
प्रदेशसभाको आजको बैठकमा विशेष समय लिई सदस्यले काठमाडौँस्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने क्रममा स्थानीय सर्वसाधारणको १८८ रोपनी जग्गा अधिग्रहण गरिए पनि जग्गाधनीलाई हालसम्म पनि सम्बन्धित निकायबाट मुआब्जाको रकम वितरण हुन नसकेकाले यथाशीघ्र मुआब्जा उपलब्ध गराउन आग्रह गरे ।
उनीहरुले प्रतिनिधिसभामा नागरिकता विधेयक विचाराधी रहेकाले केही हप्ताअघि गृहमन्त्रीले जन्मसिद्ध नागरिकलाई वंशजका रूपमा नागरिकता वितरण गर्नू भनी उल्लेख गरेको परिपत्र नेपालको संविधानसँग बाझिने खालको भई आपत्तिजनक भएको बताउँदै सो नागरिकता वितरण गर्ने प्रणालीलाई अहिले सर्वोच्च अदालतबाट स्थगन गर्नू भनी भएको आदेश प्रशंसनीय भएको बताए ।
उनीहरुले काठमाडौँ उपत्यकामा पिउने पानीको अभावले गर्दा सर्वसाधारणले निकै कष्ट भोग्नुपरेको उल्लेख गर्दै तत्काल मेलम्ची खानेपानी आयोजनाबाट पानी उपलब्ध गराउन सङ्घीय सरकारलाई प्रदेश सरकारले घच्घचाउनुपर्ने सुझाव प्रस्तुत गरे ।
विशेष समयमा सदस्य नारायणबहादुर सिलवाल, छिरिङ्गदोर्जे लामा, शान्तिप्रसाद पौडेल, विनोदराज खड्का, कृष्णप्रसाद खनाल, विजया केसी, पुकार महर्जन, शोभा शाक्य र रामेश्वर फुयाँलले बोलेका थिए ।
बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव राखेका थिए ।
उक्त विधेयकको सैद्धान्तिक पक्षको छलफलमा प्रदेशसभाका सदस्य सहभागी हुँदै हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि प्रतिष्ठानको स्थापना गर्न लागिएकामा प्रसन्नता व्यक्त गरे ।
उनीहरुले दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा प्रतिष्ठानले सञ्चालन गर्ने शिक्षण अस्पतालमा विपन्न समुदायका विद्यार्थीलाई अध्ययन गर्न पूर्णकालीन छात्रवृत्ति उपलब्ध गराउन माग गरे ।