
काठमाडौँ— धेरै नेपालीको मृत्यु मुटु रोग (इस्केमिक हर्ट डिजिज) का कारण हुने गरेको एक अध्ययनले देखाएको छ । यो रोगमा मुटुको धमनीमा बोसो जम्मा भएर रगतको आपूर्ति रोकिन्छ । मुलुकमा रोगको भारबारे नेपाल स्वास्थ्य अनुसन्धानपरिषदद्वारा गरिएको अध्ययनले यस्तो नतिजा देखिएको हो ।
२७ वर्षमा नेपालमा देखिएका रोगभारको अवस्थाबारे उल्लेख्य परिवर्तन भएको अध्ययनले औंल्याएको छ । पछिल्लो समय नेपालीका लागि विशेष गरी मुटु रोग र दम अशक्तता मृत्युको प्रमुख कारणका रूपमा देखा परेको छ ।
‘अहिले नेपालीलाई मार्ने नम्बर एक रोग इस्केमिक हर्ट डिजिज हो,’ परिषदद्वारा बुधबारदेखि राजधानीमा आयोजित स्वास्थ्य तथा जनसंख्यामा वैज्ञानिकको पाँचौं शिखर सम्मेलनमा ‘नेपालमा रोग भार’ बारे अध्ययन प्रस्तुत गर्दै मेघनाथ धिमालले भने, ‘दमका रूपमा चिनिने क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) नेपालीलाई मार्ने दोस्रो सबैभन्दा ठूलो रोग हो ।’
विशेषज्ञका अनुसार हाल मुलुकमा रक्तचाप बढेर सबैभन्दा बढी मृत्यु भइरहेको छ भने त्यसपछिको कारण धूमपान हो । रोग बढाउने एउटै जोखिमको कारणले विभिन्न रोगलाई सघाइरहेको छ । अध्ययनअनुसार २७ वर्षमा महिलाको औसत आयु ५९ वर्षबाट ७३.३ वर्ष र पुरुषको औसत आयु ५८ वर्षबाट ६८.७ वर्ष पुगेको छ ।, कान्तिपुरमा खबर छ।