३० जेठ २०८३, शनिबार

सरकारका प्रवक्ता भन्छन्- महासचिव पौडेलले जग्गा हिनामिना गर्नुभएको होइन, उहाँ त ठगिनुभो !

सरकारका प्रवक्ता भन्छन्- महासचिव पौडेलले जग्गा हिनामिना गर्नुभएको होइन, उहाँ त ठगिनुभो !
फाइल फोटो

काठमाडौं - सरकारका प्रवक्ता तथा सूचना सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ललिता निवासको जग्गा किनबेज प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल निर्दोष रहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, 'उहाँ त्यो फर्जी धन्दामा संलग्न भएको होइन, उहाँले त कसैको नाममा भएको जग्गा मैले किनेको हुँ भन्नुभएको छ । उहाँ अपराधी होइन, ठगीमा पर्नुभो ।'

बालुवाटारको प्रधानमन्त्री निवासको कुनै पनि जग्गा किनबेच नभएको र जुन जग्गा विवादित देखिएको छ, त्यसलाई सरकारले रोक्का गरिसकेको बास्कोटाले जानकारी दिए ।

सरकारी सम्पत्ति कसैले दुरूपयोग गरेको देखिएमा या अनुचित ढंगबाट कसैले सरकारी जग्गा आफ्नो नाममा राखेको पाइएमा सरकारले कानून अनुसार कारवाही गर्ने बताउँदै मन्त्री बाँस्कोटाले कोही सत्तारुढ या प्रतिपक्षी भएकै आधारमा फरक कानून लाग्ने व्यवस्था नभएको स्पष्ट पारे ।

'जग्गा दुरूपयोग भएको थाहा हुनेबित्तिकै सरकारले छानबिन समिति गठन गरेको थियो,' बाँस्कोटाले भने, 'छानबिन समितिले जग्गामा बेइमानी भएको सिफारिस गरेपछि जग्गा रोक्का गर्ने निर्णय भएको छ । अब सरकारी जग्गालाई व्यक्तिको नाममा राख्ने को-को हुन् र फर्जी कागजपत्र देखाएर बेच्दै हिँड्ने को-को हुन्, सबैलाई कारवाहीको दायरामा ल्याउने प्रयास गरिनेछ ।'

जग्गा खरिद प्रकरणमा मुछिएपछि महासचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफ्नो संलग्नता नभएको दाबी गरेका थिए ।

कानूनबमोजिम रजिस्ट्रेसन पास गरी खरिद गरेर लिएको जग्गा भएको हुँदा हिनामिनामा आफ्नो संलग्नता नभएको पौडेलको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्