
विराटनगर- प्रदेश नम्बर १ को प्रदेश सभामा हरेक दिन उठ्ने विषय भनेको क्रसर र खोलाजन्य उत्खनन् हुन् । प्रदेश सभाको शून्य समयमा झण्डै डेढ महिनादेखि प्रदेश सभा सदस्य सयर्माराज राईले उठाएको एउटै विषय हो 'नियम विपरित खोलाको उत्खनन् रोकिनु पर्छ' ।
बिहीवार प्रदेश सभाको बैठकमा पनि सांसद राईले प्रदेश सरकारलाई पटक-पटक जानकारी गराए र प्रदेश सरकारले चासो नदिएको आरोप लगाए । राईले खोला दोहनको विषयमा सरकारलाई पटक-पटक सदनबाट ध्यानाकर्षण गरेपनि सरकारले कान नसुनेको हो की आँखा नदेखेको हो भन्दै प्रश्न गरे ?
नारावाजी सहितको आन्दोलनको आवाजबाट बोल्न शुरू गरेका राईले जनताको मागलाई वेवास्ता गरेको समेत आरोप लगाए । राईले खोलानालाहरुमा ३६ हजार घनमिटर उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्यांकन गरिएको भएपपनि ४ लाख घनमिटर भन्दा बढी उठाउने गरेको राईले सदनमा सरकारलाई जानकारी गराए ।
‘वन क्षेत्र, बस्ती, नम्बरी जग्गा लगायतका क्षेत्रमा पनि मापदण्ड विपरित उत्खनन् भईरहेको छ,' राईले भने, 'अहिलेको तत्कालको अवस्था छानबिन गरी कडा कार्वाही गरियोस् ।’
बुधवारको बैठकमा पनि खोलामा हुने अवैध उत्खनन् रोक्न प्रदेश सरकारको ध्यानाकर्षण भएको थियो । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले दोहनको विषयमा सरकारलाई चासो दिन ध्यानाकर्षण गराएका थिए । आफ्नो निर्वाचन क्षेत्रमा अत्याधिक खोला दोहन भएको भन्दै साम्बाले सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश संसदमा उर्लावारी नगरपालिकाको वडा नम्बर १ मा मात्र ५ वटा क्रसर उद्योग संचालमा रहेको बताउँदै २ वटा उद्योग चालू अवस्थामा र अन्य उद्योगहरु संचालनको तयारीमा हुनुले वडाअध्यक्ष, नगरपालिका तथा स्थानीय निकायबीचमा विवाद शुरू भएकोले तत्काल त्यसको अध्ययन गरी कार्वाही प्रक्रिया अगाडी बढाउन माग उठेको थियो ।
बस्ती, स्कुल तथा मन्दिरमा नै क्रसर संचालन हुनु भनेको नीति र ऐन विपरितको काम भएको उनको आरोप छ । साम्बाले उर्लाबारी क्षेत्रमा एउटै वडामा पाँचवटा सम्म क्रसर खोलिएको भन्दै यसको नियन्त्रण गर्नुपर्ने माग गरेका थिए । बिहीवारको संसद बैठकमा कांग्रेस सांसद ज्योती सुब्बाले योजना दिँदा मन्त्रीहरुले विभेद गर्ने गरेको आरोप लगाइन् । आफ्ना आसेपासेलाई मात्र योजना दिने गरेको आरोप उनको थियो ।